
शनिवार , पौष ४, २०७७
बुटवल, ४ पुस ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अधिवेशनको मिति तोकिएपछि चुनावी प्रचार–प्रसार अभियान सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघमा समेत दावेदारी छोडेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्व अध्यक्ष सुरेन्द्र प्रसाद श्रेष्ठलाई प्रदेशको अध्यक्षमा प्रस्तुत गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा ‘क’ वर्गको उद्योग वाणिज्य संघको रुपमा निरन्तर सम्मानित हुँदै आएको बुटवल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशमा अब्बल उद्योग वाणिज्य संघको रुपमा लिइन्छ ।
बुटवल उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका श्रेष्ठ यस अगाडी महासंघको सदस्य समेत भइसकेका छन् । प्रदेशको नेतृत्व लिनको लागि महासंघको सहज यात्रालाई समेत छाडेर महासंघको प्रदेश समितिलाई ससक्त बनाउने बाचासहित श्रेष्ठले चुनावी प्रचार अभियान सुरु गरेका छन् ।
संघका पूर्व अध्यक्ष श्रेष्ठलाई प्रदेश अध्यक्षमा प्रस्तुत गरेको बुटवल उद्योग वाणिज्य संघको टोली जिल्ला नगर उद्योग वाणिज्य संघहरुमा भेटभाटमा हिंडेको छ । यो यात्रा नेतृत्व हत्याउने रणनीति मात्रै नभएर जिल्ला नगरका समस्याहरुका बारेमा समेत जानकारी लिने र निर्वाचित भइसकेपछि ती समस्यालाई कसरी समाधान गर्न सकिन्छ भन्ने अध्ययन समेत गरिने बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बताए ।
चुनावी प्रचारसहित शनिबार निस्केको चुनावी टोलीमा प्रदेश अध्यक्षका उम्मेदवार सुरेन्द्र प्रसाद श्रेष्ठसहित बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, निवर्तमान अध्यक्ष महेशमान सिंह, वाणिज्य उपाध्यक्ष हरिप्रसाद अर्याल, कार्यसमिति सदस्य बाबुराम विश्वकर्मा र सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्री छन् । बुटवलबाट निस्केको टोलीलाई सैनामैना उद्योग वाणिज्य संघले शनिबार नै रुपन्देहीको सैनामैनामा स्वागतसहित समर्थन गरेको छ ।
टोलीले लुम्बिनी प्रदेशका पश्चिमका जिल्ला नगर उद्योग वाणिज्य संघमा भेटघाट गर्ने र प्रदेश अध्यक्षमा समर्थन लिइने बताईएको छ । बुटवल उद्योग वाणिज्य संघले नेपाल उद्योग वाणिज्य संघमा अरु जिल्ला नगरका उम्मेदवारलाई सहयोग गरेकोले प्रदेशको अध्यक्षमा आफूलाई सहयोग गर्न समेत आग्रह गरेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिको शुक्रबार बसेको कार्यसमिति बैठकले यही पुस २५ गते प्रदेश अधिवेशनको मिति तोकेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij