
बुधवार , मंसिर २८, २०७९
भैरहवा, २८ मंसिर ।
पर्यटन क्षेत्रको विकासका लागि एकजुट हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन र विकासका लागि एक–अर्कालाई दोषारोपण गर्नुभन्दा मिलेर अघि बढ्नुपर्ने बताए ।
भैरहवास्थित अञ्चलपुरमा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ ( पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) अन्तर्गत बुधबार मेला सचिवालयमा आयोजित पर्यटन विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले आर्थिक समृद्धिको आधार नै पर्यटन भएकाले यसको विकासमा जोड दिनुपर्ने बताए ।
आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मूल समारोह समितिको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्विचरण) ले पर्यटन क्षेत्रको विकासका लागि सबै निकायले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले पर्यटकको बसाई लम्ब्याउन प्याकेज बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘कुरा भन्दा काम बढी गरौं, स–साना कुरामा सुधार गरौं, आ–आफ्ना जिम्मेवारी पूरा गरौं ।’
उनले विद्युतीय बस सञ्चालन गर्न केही समस्या आएका कारण रोकिएको बताए । कोषाध्यक्ष भट्टराईले विद्युतीय बस चलाउने तहमा पुगाइसकेको भए पनि सेतो नम्बर प्लेटको सवारीसाधनलाई हरियो नम्बर प्लेट बनाउन कि लिलामी प्रक्रियामार्फत अगाडि बढाउनुपर्ने वा मन्त्रीपरिषद्को निर्णय आवश्यक परेकाले रोकिएको बताए । उनले भने, ‘विद्युतीय बस हरियो नम्बर प्लेट हुनेबित्तिकै निजी क्षेत्रलाई दिएर वा कोषले आफैले सञ्चालन गर्छ ।’
लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले गुणस्तरीय पर्यटन आजको आवश्यकता रहेको बताए । उनले पर्यटकको सन्तुष्टिका लागि गुणस्तरीय सेवा तथा सुरक्षा उपलब्ध गराउनुपर्ने बताए । उनले भने, ‘पर्यटन संवेदनशील क्षेत्र हो, यसबाट प्रतिष्पर्धात्मक लाभ लिन सकिन्छ । ’उनले गुणस्तरीय पर्यटनका लागि पर्यटकको संख्यामा वृद्धि, पर्यटकले खर्च गर्ने रकममा वृद्धि, पर्यटकको बसाई लम्ब्याउनुपर्ने, वातावरण संरक्षण र स्थानीय संस्कृतिको जर्गेनामा ध्यान दिनुपर्ने बताए ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ययन कार्यालय भैरहवाका निमित्त प्रमुख तथा निर्देशक सुवास झाले सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताए । उनले भने, ‘एअरलायन्सहरुलाई अनुरोध गर्न सक्छौं, दबाब दिन सक्दैनौं । ’उनले भारतबाट एअर रुटको अनुमति प्राप्त नभएका कारण पनि कतिपय उडान हुन नसकेको भन्दै त्यसका लागि कुटनीतिक तवरबाट पहल भइरहेको जानकारी दिए । उनले निराश हुनुपर्ने अवस्था नरहेको बताए ।
अध्यागमन कार्यालय भैरहवाका प्रमुख बासुराम पौडेलले नेपालतर्फ अध्यागमनमा समस्या नरहेको बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै खरबौंको लगानी पर्यटन क्षेत्रमा भएकाले विमानस्थललाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनुपर्ने बताए । उनले एक–अर्कालाई दोषारोपण गर्नु भन्दा पनि मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले पर्यटनको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
संघका कार्यसमिति सदस्य तथा पर्यटन उपसमितिका संयोजक संजय बजिमयले बेलहिया नाकालाई व्यवस्थित गर्नुपर्ने बताए । उनले पर्यटन प्रवद्र्धनका लागि सिधा अन्तर्राष्ट्रिय हवाई उडान आवश्यक रहेकोमा जोड दिए ।
सिद्धार्थ होटल एशोशियसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले पर्यटकलाई सम्मान, सत्कारमा कुनै कमी नरहेको बताए । उनले पर्यटकको बसाई लम्ब्याउन योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘पर्यटनको विकासका लागि राज्यले राम्रो नीति बनाउनुपर्छ । ’ उनले बैंकले मनोमानी ढंगले ब्याजदर वृद्धि गर्दा पर्यटन व्यवसायमा समस्या आएको बताए । उनले युवायुवती विदेश पठाएर मात्र मुलुक समृद्ध बन्न नसक्ने भएकाले पर्यटनको विकासमा ध्यान दिन आग्रह गरे । उनले बेलहिया सडक निर्माणमा ढिलाइ भएको भन्दै सम्बन्धित निकायले यस विषयमा ध्यान दिनुपर्ने बताए । अध्यक्ष श्रेष्ठले लुम्बिनीका मोनाष्ट्रीमा पर्यटक राख्न नहुने बताए ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले लुम्बिनीमा थन्किएका विद्युतीय बस निजी क्षेत्रलाई जिम्मेवारी दिएर भए पनि सञ्चालनमा ल्याउनुपर्ने बताइन् ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीका अध्यक्ष नरेश केसीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनुपर्ने बताए । उनले भारतले रुट दिएन भनेर कहिलेसम्म भन्ने भन्दै प्रश्न गरे । उनले मेला महोत्सवले आर्थिक चलायमानमा टेवा पुर्याउने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको स्वागत तथा कार्यसमिति सदस्य तथा महोत्सवका प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
‘पर्यटन, कृषि र उद्योगको विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ गत मंसिर २३ गतेदेखि सुरु भएको आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ पुस ४ गतेसम्म चल्ने आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघका कोषाध्यक्ष गोविन्द ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij