२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘सीमा नाका व्यवस्थित गर्न सामूहिक प्रयास आवश्यक’

शुक्रवार , पौष १, २०७९

भैरहवा, १ पुस ।
सीमा नाका व्यवस्थित गर्न सामूहिक प्रयास आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । एक–अर्कालाई दोषारोपण गर्नु भन्दा सबै मिलेर अगाडि बढनुपर्ने उनीहरुको भनाइ छ ।

भैरहवामा सञ्चालित आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ (पर्यटन, कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला) अन्तर्गत शुक्रबार मेला सचिवालयमा आयोजित खुल्ला बोर्डर अवसर र चुनौती विषयक कार्यक्रममा वक्ताहरुले सीमा नाकालाई व्यवस्थित गर्न आवश्यक रहेको बताए । महोत्सवको आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजना तथा लुम्बिनी प्रेस क्लब, रुपन्देहीको संयोजनमा भएको कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयले उद्योगी–व्यवसायीले कर, बैंक ब्याज तिर्दा पनि विभिन्न हैरानी व्यहोर्नुपरेको बताए । उनले भने, ‘नेतृत्व पंक्तिमा भएका व्यक्ति जिम्मेवार भए सामान किन्न सीमापारी नजानुुस् भन्नै पर्दैन, यसका लागि राम्रो नीति बनाउनुपर्छ । ’

प्रदेश सभा सदस्य पाण्डेयले उद्योगी व्यवसायीको समस्या समाधानका लागि प्रदेश सभाको माध्यमबाट केन्द्र सरकारसम्म पुर्याउने बताए । उनले पर्यटक अतिथि भएकाले भारतीय पर्यटक देख्नेबित्तिकै नकारात्मक ढंगले हेर्न नहुने बताए । उनले एक–अर्कामाथि आरोप–प्रत्यारोप गर्नु भन्दा समन्वय गरेर अगाडि बढ्न आग्रह गरे । लुम्बिनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका नेता पाण्डेयले भने, ‘उद्योगी व्यवसायीलाई फरक दृष्टिकोणले हेर्नुहुँदैन । ’

जनताको सहयोग बिना कुनै निकाय उत्कृष्ट हुन नसक्ने भएकाले जनतासँग समन्वय गरेर अघि बढ्न उनले आग्रह गरे । उनले जुन राष्ट्रमा नेता र कर्मचारी इमान्दार हुन सक्दैनन्, त्यो राष्ट्र आर्थिक रुपमा सम्पन्न हुन नसक्ने दावी गरे । पाण्डेयले भने, ‘मर्यादा बढी नखोजौं, नेता र कर्मचारी आफै आर्थिक रुपमा सम्पन्न हुन खोजे राष्ट्रको विकास हुन सक्दैन ।’

भैरहवा भन्सार कार्यालय बेलहियाका प्रमुख भन्सार अधिकृत सीमा नाका व्यवस्थित गर्न विभिन्न निकायका आ–आफ्नै जिम्मेवारी रहेको बताए । उनले जनचेतनाको कमीका कारण नेपालमै सस्तो पाइने सामान पनि भारतमा किन्ने प्रचलन भएका कारण सचेतनामूलक कार्यक्रम आयोजना गर्नुपर्नेमा जोड दिए । उनले भन्सार तथा सुरक्षा निकायले मात्रै काम गरेर नहुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताए । प्रमुख भन्सार अधिकृत पौडेलले तस्करी रोक्न एकीकृत प्रयास आवश्यक रहेकोमा जोड दिए । 

आन्तरिक राजस्व कार्यालय भैरहवाका प्रमुख कर अधिकृत शान्तिराम निरौलाले सबै करदाताको निगरानी गर्न सकिने भएकाले कसैले गल्ती गरेको थाहा पाए जानकारी दिन आग्रह गरे । उनले लक्ष्य अनुसार राजस्व संकलन हुन नसकेको बताए । उनले भने, ‘कारोबारको सही घोषणा गरेर विवरण पेश गरौं, गलत घोषणाबाट आफैलाई समस्या हुन्छ, समन्वयात्मक रुपमा अगाडि बढौं ।’

श्री सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण, हे.क्वा. भैरहवा, रुपन्देहीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठले बोर्डरलाई दुषित बनाउन नहुने बताए । उनले सशस्त्र प्रहरीसँगै सीमामा बस्ने नागरिकले सीमाको सुरक्षा गरिरहेको बताए । उनले भने, ‘सबै कार्यालयले आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गरिरहेका छन्, यो आर्थिक वर्षमा ३ करोड बढीको अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय पठाएका छौं । ’

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बेद बहादुर पौडेलले राज्यको नीति कार्यान्वयन गर्नु प्रहरीको दायित्व भएको बताए । उनले जिल्ला प्रहरी कार्यालयमा ५० प्रतिशत बढी मुद्दा लागूऔषधसम्बन्धी दर्ता भएको बताए । उनले भने, ‘समस्या समाधानका लागि एकीकृत रुपमा लागौं, प्रहरीले गरेका काम–कारवाहीमाथि कुनै शंका भए भन्नुहोस् ।’

क्वारेन्टाइन कार्यालय बेलहियाका बाली संरक्षण अधिकृत हरि खनालले फूलको आयातमा सरकारले कडाइ गरेको बताए । उनले समस्या समाधानका लागि मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपक पौडेलले खुल्ला सीमाका कारण अवैध व्यापार भइरहेको बताए । उनले सबै मिलेर आयात निरुत्साहित गर्नुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले भने, ‘हामी अवैध व्यापार चाहँदैनौं । ’उनले व्यापारमा कमी भएका कारण राजस्व संकलनमा समेत कमी आएको बताए । उनले यस क्षेत्रका कयौं उद्योग बन्द भएको जानकारी दिए । अध्यक्ष न्यौपानेले आर्थिक मन्दीका बाबजुद महोत्सव सञ्चालन गरिएको बताए ।

संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले सीमा नाकालाई व्यवस्थित र कडाइ गर्नुपर्ने बताए । उनले चेकजाँचमा कडाइ गर्नुपर्ने बताए । उनले भने, ‘सीमा पारी नेपाली उपभोक्ताका भिडभाड छ, हामी स्वदेशी बजारमा पनि त्यस्तै भिडभाड होस् भन्ने चाहन्छौं ।’

संघका पूर्व अध्यक्ष विष्णु प्रसाद शर्माले खुल्ला बोर्डरले अवसर र चुनौती दुवै भएको बताए । उनले भारतीय पर्यटकलाई इमान्दारीपूर्वक सेवा सुविधा दिनुपर्नेमा जोड दिए । उनले भने, ‘ठाउँठाउँमा भारतीय पर्यटकीयलाई चेकिङको नाममा दुःख दिने काम भएको छ । ’

संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले खुल्ला सीमाका कारण चोरी तस्करी बढेको बताए । उनले भन्सार कार्यालयमा जनशक्तिको अभाव भए सिद्धार्थ उद्योग वाणिज्य संघले प्रज्ञापनपत्र भर्न सहयोग गर्न जनशक्ति सहयोग गर्ने बताए ।

संघका महासचिव विजय पाण्डेले सीमा नाका व्यवस्थित गर्नुपर्ने बताए । उनले खुल्ला सीमाका कारण विभिन्न चुनौती रहेको बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.ले चोरी तस्करीका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताए । उनले भन्सारमा प्रज्ञानपत्र भर्ने कार्यलाई कडाइका साथ पालना गर्नुपर्ने बताए ।
क्लबका निवर्तमान अध्यक्ष दीपेश पछाईले भन्सार कार्यालयमा भरिने प्रज्ञापनपत्र भर्ने काम पूर्ण रुपमा कार्यान्यवन भए धेरै समस्या समाधान हुने बताए ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले नाकाबन्दीमा अन्य नाका बन्द हुँदा बेलहिया नाका भने सञ्चालन भएको बताए । उनले सीमा पारी सुनौली बजारमा उपभोक्ताको भिडभाड हुँदा स्वदेशी बजार भने सुनसान भएको गुनासो गरे । उनले भने, ‘उपभोक्तालाई सीमा पारीको बजारबाट कति सामान ल्याउनुभयो भन्ने कुराको रेकर्ड राख्न जरुरी छ ।’

नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले सबैको सहकार्य आवश्यक रहेको बताए । उनले खुल्ला सीमामा चुनौतीको चाङ भएको बताए । उनले सीमामा गलत कार्य भएको थाहा भए सम्बन्धित निकायलाई सूचना दिनुपर्ने बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपानेको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य सन्तोष कुमार पाण्डेयको प्रमुख आतिथ्यता, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठको स्वागत तथा संघका कार्यसमिति सदस्य एवं आठौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ का प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।