
शुक्रवार , पौष १, २०७९
लुम्बिनी, १ पुस ।
बुद्ध जन्मस्थल लुम्बिनीमा दानवापत २ महिनामा ६१ लाख २० हजार ८ सय ६ रुपैयाँ संकलन भएको छ । लुम्बिनी विकास कोषले ५ दिन लगाएर शुक्रबार सकाएको दानपेटीकाको भेटी गणनामा उक्त रकम संकलन भएको हो । आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएसँगै मायादेवी मन्दिरमा राखिएका दानपेटीका छिट्टै भरिन थालेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
अघिल्लोपटक ३ महिनामा एकपटक गणना गरिएकोमा यसपटक दान पात्र छिट्टै भरिएकाले २ महिना नपुग्दै गणना सुरु गरिएको हो । गत असोज ३० गते गरिएको भेटी गणनामा २७ लाख १८ हजार दानवापत रकम संकलन भएको थियो । कोरोना महामारीपछि थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेपछि लुम्बिनी भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि हुन थालेको लुम्बिनी विकास कोषले जनाएको छ ।
अहिले लुम्बिनी भ्रमणको सिजन समेत सुरु भएकाले छिमेकी देश भारतसहित थाइल्याण्ड, म्यानमार, भियतनाम र यूरोपबाट समेत दर्शनार्थी आउने क्रम बढेको कोषाध्यक्ष भट्टराईले बताए । लुम्बिनी विकास कोषको सूचना शाखाका अनुसार नोभेम्बर महिनामा मात्रै आन्तरिक अर्थात नेपालीले ८२ हजार २ सय ५ जनाले भ्रमण गरेका छन ।
यस्तै नोभेम्बर महिनामा मात्रै भारतबाट ३८ हजार ६८९, अन्य मुलुकबाट ७ हजार ४ सय ७३ जना लुम्बिनी आएका छन् । नोभेम्बर महिनासम्म ५ लाख ४५ हजार नेपालीले लुम्बिनी भ्रमण गरेकोमा भारतबाट १ लाख ८८ हजार पर्यटक भित्रिएको सुचना शाखाको तथ्यांकमा उल्लेख छ । भेयतनाम, म्यानमार, थाइल्याण्ड, श्रीलंका लगायतका ८४ मुलुकबाट १ लाख ८१ हजार जनाले लुम्बिनी भ्रमण गरेका छन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij