२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

नवौं लुम्बिनी सडक खाना तथा साँस्कृतिक महोत्सव हुँदै

बिहिवार , पौष ७, २०७९

भैरहवा, ७ पुस ।
बुद्ध जन्मस्थल लुम्बिनीमा नवौं लुम्बिनी सडक खाना तथा साँस्कृतिक महोत्सव (फूड फेष्टिबल) हुने भएको छ । लुम्बिनी होटल संघ, नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्ष २०२३ को पूर्व सन्ध्यामा डिसेम्बर ३१ तारिख (पुस १६ गते शनिबार) महोत्सव हुने भएको हो । संघले बिहीबार लुम्बिनीमा पत्रकार सम्मेलनमार्फत सडक खाना महोत्सवबारे जानकारी गराएको हो ।

विगतका वर्षहरुझैं सडक खाना महोत्सवको आयोजना यसपटक पनि भव्यताका साथ हुने लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द प्रसाद ज्ञवालीले बताए । कोरोना संक्रमणले ध्वस्त बनाएको पर्यटन बजार बिस्तारै बामे सर्दै गरेको अवस्थामा सडक खाना महोत्सवले यस क्षेत्रमा रौनकता थपिने मात्र नभइ अर्थतन्त्र पनि चलायमान हुने अध्यक्ष ज्ञवालीको भनाइ छ । फेस्टिबलमा स्थानीय थारु समुदाय, मुस्लिम समुदाय, पश्चिमी तराईका ब्राहमण समुदाय लगायतका खानपिनका साथै पाल्पाको झिनिया रोटी, बटुक, हाँसको छोइला, यस क्षेत्रकै पहिचान बनेको चुकौनी, यस क्षेत्रकै नामी मिठाइ इम्रिति लगायतका खानेकुरा रहने उनले बताए ।

फूड फेष्टिबलमा लुम्बिनीमा रहेका अन्तर्राष्ट्रिय बिहारहरुको सहयोगमा चीन, जापान, कोरिया, भियतनाम, क्याम्बोडिया, म्यानमार, श्रीलंका लगायत देशका परिकारहरु पनि समावेश गराउने कोशिषमा रहेको संघका निवर्तमान अध्यक्ष मिथुन श्रेष्ठले बताए । त्यस्तै नौमति, पञ्चेबाजा, बिरहा, थारु, झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको व्यवस्था मिलाइएको उनले बताए । महोत्सव हुने दिन विभिन्न परिकार छानीछानी र सुपथ मूल्यमा उपलब्ध हुने भएकाले पाहुनाहरु सडकमै रमाउन सक्ने वातावरण तयार हुने श्रेष्ठले बताए । 

लुम्बिनी सडक महोत्सवलाई अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा गरिने न्यू इयर इभ लुम्बिनी फूड फेष्टिभलका रुपमा देश-विदेशमा एउटा ब्राण्डेड प्याकेजका रुपमा लैजाने र यसले लुम्बिनी र यस क्षेत्रको पर्यटन क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा रहेको संघका वरिष्ठ उपाध्यक्ष लिलामणी शर्माले बताए ‘हामी चाहन्छौं नया वर्ष सेलिब्रेशन गर्न कहाँ जाने भन्दा देश–विदेशबाट लुम्बिनी जाने भन्ने होस्, यस्तै वातावरण बनोस, ’शर्माले भने ।

सडकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय र प्रचलित खानाका परिकारहरु, सांस्कृतिक सुगन्ध, सांगीतिक सांझ, सडकमै विभिन्न परिकार छानीछानी, घर लैजाने खाद्य उपहार उपलब्ध हुने, लुम्बिनीको विशेष उपहार उपलब्ध हुने र पुस १६ गतेका निम्ति होटलका कोठामा लुम्बिनी होटल संघ नेपालका सदस्य आबद्ध होटलहरुमा ३० प्रतिशत छुट प्रदान गरिने महोत्सवको विशेषता भएको उनले बताए ।

फेष्टिभलमा लुम्बिनीमा स्वदेशी, विदेशी पर्यटक, स्थानीय भैरहवा, बुटवल र अन्य ग्रामीण बजारबाट मात्र नभइ सीमावर्ती भारतीय बजारबाट समेत सहभागी हुन आउने अपेक्षा गरिएको संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । भारतीय सीमावर्ती बजार तथा भैरहवा, बुटवल, तौलिहवाबाट यातायात (बस) को व्यवस्था गरिने आयोजकले बताएका छन् ।

लुम्बिनीको महिलवार बजारमा बेलुका ४ बजेदेखि राती १२ बजेसम्म फूड फेष्टिभल आयोजना हुनेछ । महोत्सवको लुम्बिनी होटल संघ, नेपाल आयोजक भए पनि महोत्सव आयोजनमा पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय लुम्बिनी प्रदेश, पर्यटन डिभिजन कार्यालय रुपन्देही, लुम्बिनी विकास कोष, लुम्बिनी पर्यटन विकास परिषद्, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थ उद्योग वाणिज्य संघ र होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देही लगायतका संघ–संस्था र निकायहरुले समेत आयोजकका रुपमा सहयोग गरेका छन् ।