
सोमवार , पौष ६, २०७७
नवलपरासी। नवलपरासी लगाएत छिमेकी जिल्लामा सञ्चालित ठुला उद्योगहरुमा उत्पादित बस्तु र उद्योगलाई चाहिने आवश्यक कच्चापदार्थ ओसारपसार गर्ने ढुवानी कम्पनिहरुले ट्राफिक प्रहरीलाई महिनावारी रकम दिएर भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्ने गरेका छन्।
नवलपरासी र रुपन्देहीका झण्डै दर्जन ढुवानी कम्पनीहरुले क्षमता भन्दा बढी ढुवानी गर्ने गरेका छन्। यसरी क्षमता भन्दा बढी ढुवानी गर्ने कम्पनीहरुमा जगदम्बा ढुवानी सेवा, चिरपरिचित ढुवानी सेवा, अटो वोएज ढुवानी सेवा, दोभान ट्रान्सपोर्ट सेवा, एस के, सहयात्रा, सुकेताल, बावरी, तमन्ना, आलमदेवी, सदिक्षा, एआरएम, नेशनल, शुभलक्ष्मि, मुस्ताङ, दर्लमकाली, सत्यवति सप्लायर्स, सिद्धबाबा मल्टी बिजनेस, मुनाल, डिडि, सिद्धबाबा सप्लायर्स, लगाएत रहेका छन्।
ति ढुवानी कम्पनीहरुले विशेषगरी नवलपरासी जिल्लामा सञ्चालित काठमाडौं स्टिल कम्पनी, सर्वोत्तम सिमेन्ट, पाल्पा सिमेन्ट, होङ्सि सिमेन्ट, रुपन्देहीमा सञ्चालित अर्घाखाँची सिमेन्ट, जगदम्बा सिमेन्ट र अग्नि सिमेन्ट कम्पनीहरुमा कच्चापदार्थका साथै उत्पादित बस्तुहरु ढुवानी गर्ने गर्दछ्न। ति उद्योगहरुमा पाल्पाबाट कच्चापदार्थ (चुन ढुङ्गा) ढुवानी गर्ने कम्पनीहरुले दैनिक जसो क्षमता भन्दा बढी सामाग्री ढुवानी गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पा, ट्राफिक प्रहरी पोष्ट दोभान, लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, ट्राफिक प्रहरी पोष्ट रामनगर, ट्राफिक प्रहरी पोष्ट खैरेनि र ट्राफिक प्रहरी पोष्ट सुनवलमा महिनावारी रुपमा रकम बुझाउने गरेको नाम नबताउने सर्तमा एक टिप्पर व्यवसायीले बताए।
ति ढुवानी कम्पनीहरुले १७ टन भारबहन क्षमताको टिप्परमा ३० टन सम्म सामाग्री ढुवानी गर्ने गरेका छन्। जबकि नेपालमा मुख्य राजमार्गमा गुड्ने ढुवानी साधनको भारवहन क्षमता १७ टन मात्रै अनुमति प्रदान गरिएको छ। त्यस्तै भारतबाट आउने ठुला लहरि साधनको लागि २५ टन सम्मको भारवहन क्षमताको अनुमति दिएपनि ति लहरि साधनले ५३ टनसम्म सामाग्री ढुवानी गर्दै आएको पाइएको छ। भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्नुपर्ने भएमा यातायात व्यवस्था कार्यालयमा निवेदन दिने र यातायात व्यवस्था कार्यालयलद्वारा तोकिएको शुल्क भुक्तानी गरेपश्चात अनुमति दिने व्यवस्था छ। तर, त्यो प्रक्रिया झन्झटिलो र खर्चिलो हुने हुँदा ढुवानी सेवा सञ्चालक कम्पनिहरुले सिधै ट्राफिक प्रहरीलाई महिनावारी पैसा बुझाउने र क्षमता भन्दा बढि सामान ढुवानी गर्ने गरेको ति टिप्पर व्यवसायीको भनाई छ।
भारवहन क्षमता भन्दा बढि सामाग्री ढुवानी गर्ने साधनहरुलाई ट्राफिक प्रहरीले प्रति साधन १ हजार देखि १५ सय रुपैयाँ सम्म जरिवाना लगाउन सक्ने व्यवस्था छ। तर, ढुवानी सेवा सञ्चालक कम्पनीहरुले पहिले नै ट्राफिक प्रहरीलाई केहि रकम बुझाई महिनाभरिनै निर्वाध रुपमा सामाग्री ढुवानी गर्ने गरेको पाईएको हो।
रुपन्देहीको बेलहिया नाकाबाट २० किलोमीटर सम्मको औधोगिक करिडोरसम्म जानका लागि रुपन्देही जिल्लामा मात्र सिमित हुने गरी क्षमता बढी सामाग्री बोकेका साधनलाई जिल्ला प्रशासन कार्यालय रुपन्देही, भन्सार कार्यालय भैरहवा र सिद्धाथए उद्योग वाणिज्य संघको सिफारिसमा २०७५ सालदेखि छुट दिने व्यवस्था गरेको भएतापनि त्यो अनुगमन र कार्यान्वयन हुन नसक्दा बेलहिया नाक हुँदै दैनिक सयौं सङ्ख्यामा भारवहन क्षमता भन्दा बढि सामान बोकेर आएका साधनहरु नेपालका विभिन्न ठाउँमा सञ्चालित उद्योगहरुमा आउने गरेका छन्। यसरी नवलपरासी जिल्ला हुँदै पूर्व पश्चिम राजमार्गमा दैनिक ५० देखि ६० वटा सम्म भारबहन क्षमता भन्दा बढि सामाग्री बोकेका सवारीहुरु गुड्ने गरेका छन।
यसबारे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले आफुहरुले नियमित सवारी चेकजाँच गर्ने र भारवाहन क्षमता भन्दा बढी मालसामान बोक्ने सवारीलाई जरिवाना लगाउने गरेको बताए। उनले भने हामीले मासिक रुपमा कति टिप्परलाई कार्वाही गरेका छौं, त्यो बारे बुझ्न कार्यालयमा नै आउनु। उनले थपे ट्राफिकले जरिवाना नगर्ने भन्ने कुरा शुन्य सहनशीलता हो, कुनै ट्राफिकले त्यसो गरेको रहेछ भने नाम तोकेर नै जानकारी गराउनु, म कार्वाही गर्छु। ट्राफिक प्रहरीले सवारी चालक र आम नागरिकसङ्ग सहकार्य गरेर काम गर्नुपर्नेमा आफुहरु सचेत रहेको समेत उनले बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij