
आइतवार , पौष १०, २०७९
भैरहवा, १० पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रमअन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । तीन वर्षअघि सुरु भएको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको हो । नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम सुरु गरिएको जनाएको छ ।
आफ्ना नागरिकहरुको समुन्नत स्वास्थ्यको लागि नगरपालिकाले विविध कार्यक्रमहरु सञ्चालन गर्दै आएको र उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रममार्फत नगर क्षेत्रभित्र स्थायी बसोबास गर्ने १०० दिनभित्रका सुत्केरी आमाहरुलाई कोशेलीसहित सम्मान गर्न लागिएको उपप्रमुख उमा अधिकारीले बताइन् । उनले भनिन्, ‘सिद्धार्थनगर नगरपालिकाको स्वीकृत कार्यक्रमअनुसार उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रमबाट लााभान्वित हुन सिद्धार्थनगर क्षेत्रभित्र स्थायी बसोबास भएका १०० दिनभित्रका सुत्केरी आमाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेकोले सो कार्यक्रमबाट लाभ लिन कागजातसहित आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नहुन अनुरोध गर्दछु । ’ समयमै जन्मदर्ता गर्ने बानीको विकास गर्न, मातृ शिशु मृत्युुदर घटाउने कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ । नगरपालिकाले १७ लाख रुपैयाँ बजेट छुट्याएर उप–प्रमुख कोसेली भेट कार्यक्रम सुरु गरेको उनले जानकारी दिइन् ।
कोशेली पाउनका लागि वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्ने, विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोप कार्ड, अस्पतालबाट जारी शिशुको जन्मदर्ता प्रमाणपत्र, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र बुवा/आमाको नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हुनुपर्ने उनले बताइन् ।
उपप्रमुख अधिकारीकाअनुसार नगरपालिकाले उपलब्ध गराउने कोशेलीमा झुल, सेनेटरी प्याड, म्याक्सी (गाउन), घ्यू, मह, ज्वानो, आमा र बच्चाका लागि नुहाउने साबुन, लुगा धुने पाउडर, बच्चाको तेल, डिटोल साबुन र कोशेली झोला छ ।
एकजना सुत्केरीलाई करिब ३ हजारको सामान उपलब्ध गराइने नगरपालिकाले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकाको प्रमुख इश्तियाक अहमद खानले तत्कालका लागि नगरपालिका क्षेत्रभित्र स्थायी बसोबास गर्ने सुत्केरी आमाहरुलाई कोशेली उपलब्ध गराए पनि विस्तारै नगरमा बसोबास गर्ने सम्पूर्ण नेपाली नागरिक सुत्केरी आमाहरुलाई कोशेली दिइने बताए । नगरपालिकाको तथ्यांकअनुसार सिद्धार्थनगरमा १ वर्षमा करिब ९ सय महिलाहरु सुत्केरी हुन्छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij