images

शनिवार, बैशाख १५ गते २०८१

विदेशबाट फर्किएका मर्चवारका विभाण्ड केराखेतीमा रमाउँदै

विदेशबाट फर्किएका मर्चवारका विभाण्ड केराखेतीमा रमाउँदै

वार्षिक ७० लाखसम्म आम्दानी गर्ने लक्ष्य

images
images
images
सोमवार, पौष ११ २०७९
सोमवार, पौष ११ २०७९
  • विदेशबाट फर्किएका मर्चवारका विभाण्ड केराखेतीमा रमाउँदै

    भैरहवा, ११ पुस ।

    images

    पाँच वर्षअघि विदेशबाट फर्किएका रुपन्देहीको मर्चवारका विभाण्ड यादव यतिबेला केराखेतीमा रमाएका छन् । तीन वर्ष वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका मर्चवारी गाउँपालिका–१ स्थित सुमेरगढका ३५ वर्षिय यादवले लीजमा लिएर ३५ विगाह जग्गामा केराखेती गरेका छन् । विदेशिनु भन्दा स्वदेशमा कृषि पेशाबाट राम्रो आम्दानी गर्न सकिने भन्दै आफूले कृषि पेशा रोजेको उनले बताए ।

    मर्चवारी गाउँपालिकाबाट १ लाख अनुदान रकम र थप व्यक्तिगत लगानीमा मर्चवारी–१ स्थित मकुनगढमा १७ हजार केराको बोट रोपेको बताए । उनले मर्चवारी–२ का राजेश सिंह, वडा नम्बर १ का रामउजागिर यादव र हरिहर यादवको जग्गा वार्षिक २ लाख ६५ हजार तिर्ने गरी लीजमा लिएका छन् । यादवले वार्षिक ७० लाखसम्म आम्दानी गर्ने लक्ष्य राखेका छन् ।

    नदीको किनारमा रहेको हुँदा सिंचाइमा धेरै खर्च हुने गरेको उनले बताए । सिंचाइ गरिएको केही दिनमै जमिन सुक्खा हुने गरेको यादवको गुनासो छ । सिंचाइका लागि मोटर चलाउन विद्युतको व्यवस्था नभएकोले डिजेल झन खर्चिलो भएको उनले बताए । कृषक यादवले भने, ‘स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँछ तर यति धेरै क्षेत्रफलमा केराखेती गरेको हुँदा विद्युतको पहुँचबाट अहिले पनि कृषि क्षेत्र टाढा रहेको छ । तरकारी खेती र ठूलो क्षेत्रफलमा व्यवसायिक खेती गर्ने क्षेत्रमा सरकारले विद्युतको सुविधा दिन सके कृषकमा उर्जा थपिन्थ्यो र कृषि उपजमा वृद्धि हुन्थ्यो ।’ सरकारले नगद अनुदानभन्दा कृषि क्षेत्रमा सहज रुपले सडक, विद्युत र सिंचाइको व्यवस्थापन साथै प्राविधिकि तालिम मात्र दिन सके मर्चवारले नेपालको प्रत्येक स्थानमा तरकारी तथा खाद्यान्न पुर्‍याउन सक्ने यादवको भनाइ छ ।

    सडक र विद्युतको समस्याले गर्दा केराखेतीमा चुनौती थपेको उनले बताए । केरालाई विभिन्न रोगबाट जोगाउन विषादी प्रयोग गर्नुपर्ने साथै बँदेल र निलगाईबाट पनि जोगाउन उत्तिकै चुनौती रहेको कृषक यादवले बताए । केही क्षेत्रफलमा तारबार गरी केही हदसम्म जोगाउन सफल भएको उनले बताए । अहिले करिब ३ हजार केराको बोट बँदेल र निलगाईले खाइदिएको उनले जानकारी दिए ।

    ‘सुरुमा केराको खेती गर्दा छिमेकीहरुले यसप्रति निकै आलोचना गर्थे, तर केराको बोट हुर्कन साथ केराखेतीमा अन्य कृषकले पनि चासो दिएका छन्, उनले भने, सरकारले सहयोग गरे थप खेत लीजमा लिएर स्ट्राबेरीको खेत गर्ने योजना बनाएको छु ।’

    विभाण्डका आमा, श्रीमती र दुई छोरा छन् । छुट्टै बसेका एक भाई विदेश र एक जना भारतमा काम गर्छन् । विभाण्ड घरमै कृषि पेशामा संलग्न भइ राम्रो आय गर्ने स्रोत बनाएका छन् ।

    kera 2 .jpg

    मर्चवारी गाउँपालिका कृषिको सम्भावना बोकेको क्षेत्र भएको गाउँपालिकाका कृषि शाखा प्रमुख दिनेश यादवले बताए । विभान्डले गरेको केरा खेतीबारेमा गाउँपालिकाबाट निरन्तर सल्लाह–सुझाव दिएर केराबोटमा लाग्ने विभिन्न रोगबारे समयमै उपचार गरिएको उनले बताए । कृषि शाखाको परामर्शले नै विभाण्डले केरा खेती सुरु गरेको र उक्त खेतीले मर्चवारी गाउँपालिकाको सान बढाएको कृषि शाखा प्रमुख यादवले बताए । मर्चवारी गाउँपालिकामा अन्य कृषकलाई पनि व्यवसायिक खेतीप्रति आकर्षित गराउन विभिन्न सहयोग गरिरहेको उनको भनाइ छ । उत्पादित केरालाई बजारीकरण गर्न पनि गाउँपालिकाको तर्फबाट सहयोग हुने यादवले जानकारी दिए ।

    kera kheti 2.jpg

    मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईले कृषक विभान्डलाई पहिलोपटक १ लाख प्रोत्साहनवापत दिएको बताए । उनको कृषि क्षेत्रमा विद्युतीकरण गर्ने कार्य अघि बढाइएको र त्यस क्षेत्रमा लिफ्ट सिँचाई आयोजना पनि केही दिनभित्र सञ्चालनमा ल्याउने बताए । कृषि क्षेत्र प्रवद्र्धन गर्न कृषक सडकमा विद्युतीकरण गर्न पहिलो लक्ष्य रहेको उनले बताए । विभान्डले स्ट्राबेरीको खेतीबारे आफूलाई जानकारी गराएको र त्यसमा पनि गाउँपालिकाले सहयोग गर्ने अध्यक्ष बरईले प्रतिवद्धता व्यक्त गरे ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij