२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

माइती नेपाल भैरहवाद्वारा २३४ जनाको उद्वार

शुक्रवार , पौष १५, २०७९

भैरहवा, १५ पुस ।
माइती नेपाल भैरहवा नगर परियोजना परामर्श समितिको बैठक बिहीबार सिद्धार्थनगर नगरपालिकामा सम्पन्न भएको छ । नगरप्रमुख इस्तियाक अहमद खानको अध्यक्षतामा बसेको बैठकमा माइती नेपाल भैरहवा आवधिक गृहका कार्यक्रम संयोजक माया क्षेत्रीले जनवरी २०२२ देखि डिसेम्बरसम्म १ वर्ष गरेका कामको जानकारी गराउँदै सो को समीक्षा गरिएको थियो ।

नेपाल भारत सीमापार मानव बेचविखन तथा ओसारपसार न्यूनीकरणका लागि सीमा निगरानी कार्यक्रमसम्बन्धी परियोजनाअन्र्तरगत नगर परियोजना परामर्श समिति बैठकमा सो कुरा गरिएको हो ।

माइती नेपाल आवधिक गृह भैरहवाले मानव बेचविखन तथा ओसारपसार निगरानीका लागि सञ्चालन गरेको सीमा नाका बेलहियामा निगरानी निरन्तर चलिरहेको जनाएको छ । त्यसै गरी वैदेशिक रोजगारसम्बन्धी परामर्श, जनचेतनामूलक कार्यक्रमहरुको पनि समीक्षा गरिएको थियो । मानव बेचबिखनविरुद्ध सम्बद्ध सबै निकायहरुले समन्वयात्मक रुपमा सहकार्य गर्ने पनि बैठकमा निर्णय भएको छ ।

माइती नेपाल भैरहवाले रुपन्देही जिल्लामा २०२२ मा सीमा नाकाबाट २३४ जनाको उद्वार गरेको छ । यो अवधिमा मानव बेचविखन तथा ओसारपसार रोकथाममा भारतका विभिन्न स्थानबाट ८ जना, मानव बेचविखन मुद्वा दर्ता एउटा, सीमाबाट परामर्श संख्या १८ हजार २० जना, जिल्ला प्रशासनबाट परामर्श ८३० जना, पर्चा पम्पलेट वितरण ३ हजार ४ सय ९५ थान, खोजतलास सम्बन्धी निवेदन ३० जना र घरेलु हिंसासम्बन्धी निवेदन २३ जनाको रहेको माइती नेपाल भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताइन् ।

बैठकमा नगरप्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नवराज पौडेल, शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटा, कृषि शाखा प्रमुख योगेन्द्र यादव, स्वास्थ्य शाखाका विजय यादव, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिलिमराज घिमिरे, कौशिल्या चौधरी लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले बोलेका थिए ।