
मंगलवार , पौष ७, २०७७
भैरहवा, ७ पुस ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडले रुपन्देहीको भैरहवामा नयाँ शाखा कार्यालय सुरु गरेको छ । उक्त शाखा कार्यालयको मंगलबार लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले उद्घाटन गरेका हुन् ।
बैंकको ५४ औं शाखा कार्यालयको उद्घाटन कार्यक्रममा उपाध्यक्ष गौतमले प्रदेश सरकार सहकारीसंग सहकार्य गर्न तयार रहेको बताउँदै त्यसको लागि बजेटको समेत व्यवस्था गरिएको जानकारी दिए । उनले सहकारी संस्थाले सहकारीको उद्देश्य अनुसारका काम गर्न आग्रह गर्दै गरिबी निवारणको लागि उत्पादनमुलक क्षेत्रमा लगानी गर्न समेत सहकारीहरुलाई आग्रह गरे ।
राष्ट्रिय सहकारी बैंकलाई यो वर्ष थप २४ वटा शाखा विस्तारको लागि नेपाल राष्ट्र बैंकले स्वीकृति दिए बमोजिम लुम्बिनी प्रदेशको रुपन्देहीमा भैरहवा र तिलोत्तमा, दाङको तुलसीपुर, बर्दियाको भूरिगाउँ तथा बाँकेको नेपालगञ्ज गरी ५ वटा शाखा कार्यालय थपिंदैछन् । यसअघि लुम्बिनी प्रदेशमा नवलपरासीको बर्दघाट, रुपन्देहीको बुटवल, दाङको घोराही र बाँकेको कोहलपुर गरी ४ वटा शाखाबाट बैंकिङ् कारोबार गर्दै आएको थियो । अब लुम्बिनी प्रदेशमा राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय ९ पुग्नेछ ।
रुपन्देहीको तिलोत्तमा शाखा पुस महिनाभित्र ड्राईभरटोलमा सञ्चालनमा आउने बैंकले जनाएको छ । राष्ट्रिय सहकारी बैंकले सहकारीको मात्रै खाता खोल्न र सहकारीसंग मात्रै कारोबार गर्न पाउँछ । २ अर्ब ६० करोड शेयर पुँजी रहेको राष्ट्रिय सहकारी बैंकले २७ अर्ब लगानी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईले जानकारी दिए ।
राष्ट्रिय सहकारी बैंक सञ्चालक समितिका अध्यक्ष के.वी. उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य तथा लुम्बिनी प्रदेश संयोजक विजया धिताल, सञ्चालक समिति सदस्य माधवलाल देवकोटा, राष्ट्रिय सहकारी महासंघका सञ्चालक भिम तुलाचन, केन्द्रीय बचत तथा ऋण सहकारी संघ शिक्षा समिति सदस्य ज्ञानु पौड्याल लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij