
शुक्रवार , पौष १०, २०७७
काठमाडौं, १० पुस ।
बागमती प्रदेश सरकारका तीन जना मन्त्रीले सामुहिक रुपमा एक विज्ञप्तीमार्फत आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल र आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले मन्त्री पदबाट राजिनामा दिएका हुन् ।
मुख्यमन्त्री डोरमणी पौडेलका कारण प्रदेश सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको भन्दै ती मन्त्रीहरुले राजीनामा दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ । यसैबीच मुख्यमन्त्री पौडेलविरुद्ध आफ्नै पार्टीका प्रदेशसभा सदस्यले अविश्वासको पत्र दर्ता गरेको संसद सचिवालयले जनाएको छ ।
प्रदेशसभाका ४५ सदस्यले पौडेलविरुद्ध बिहान ११ बजे अविश्वासको प्रस्ताव दर्ता गरेको मन्त्री पदबाट राजीनामा दिएका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिए । प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका तीन, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई÷दुई तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र पछिल्लो पटक देखिएको विवादका कारण मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको जम्कट्टेलले बताएका छन् । माथिबाट निर्देशन आए बमोजिम अबिश्वास प्रस्ताव दर्ता गरिएको उनले जानकारी गराए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij