
शनिवार , पौष ११, २०७७
भैरहवा, ११ पुस ।
लुम्बिनी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले सहकारीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने गरी अगाडि बढाउनुपर्ने बताएका छन् । सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था तिलोत्तमा–२ शंकरनगरको २६ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले सहकारीले गर्ने लगानीलाई उत्पादनमूलक क्षेत्र र कृषिमा लगाउनुपर्ने बताए ।
‘सहकारीको लगानीबाट आलु, दूध, तरकारी लगायत विभिन्न कृषि वस्तुहरुको उत्पादन बढाउन सकिन्छ, जलविद्युतमा पनि लगानी गर्नु उपयुक्त हुन्छ’–उनले भने । उद्योग धन्दा र कलकारखाना खोल्नका लागि ठूलो लगानीको आवश्यकता पर्ने भएकाले ठूलो लगानी गर्ने गरी अब सहकारीहरु एकीकरण हुनुपर्नेमा मन्त्री गिरीले जोड दिए ।
मन्त्री गिरीले कुनै पनि ऐन कानुन सुविधाका लागि र संस्थालाई अनुशासनमा राख्नका लागि रहेको भन्दै सहकारीसम्बन्धी ऐनले अप्ठेरो पारे त्यसलाई फुकाउन आफूले पहल गर्ने बताए । ‘ऐन सुविधाका लागि हो, यसलाई परिवर्तन गर्न सकिन्छ, सहकारी सञ्चालनमा ऐनले बाधा पु¥याए अप्ठेरो फुकाउन मैले पहल गर्छु’–उनले भने ।
कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले थोरै संख्याबाट सुरु भएको सहकारी अहिले हजारौंको संख्यामा सदस्य बढाउन सफल भएको भन्दै आर्थिक समृद्धिमा सहकारीको योगदान महत्वपूर्ण रहेको बताए । उनले आर्थिक उपार्जनका लागि सहकारी प्रमुख रहेको उल्लेख गर्दै सहकारी एकीकरणलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष सुरेन्द्रकुमार वर्माले संस्थाको शेयर पुँजी २४ करोड ६२ लाख ९५ हजार, ऋण लगानी, एक अर्व ८९ करोड, ७० लाख ५५ हजार ७६५ पुगेको जानकारी दिए ।
त्यस अवसरमा नेफ्स्कुनका लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण नेपाल, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, लुम्बिनी बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष प्रकाश भट्टराई, मणिप्रभा बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष दिनेश फुल्लेल, निवर्तमान अध्यक्ष चुरामणि खरेल, माधव पाठक, संस्थाका उपाध्यक्ष लक्ष्मण ज्ञवाली, संस्थाका शेयर सदस्य दिवाकर पन्थी, देवी वाग्ले लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij