
मंगलवार , माघ १७, २०७९
बुटवल, १७ माघ ।
नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले कुनै पनि पार्टीसँग तत्काल एकता नहुने बताएका छन् । उनले बामशक्ति निर्माणका लागि वार्ता र छलफल भइरहेको बताउँदै पार्टी एकता हुने अवस्था नरहेको स्पष्ट पारे । नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव खतिवडाले वैचारिक कम्यूनिष्ट पार्टी निर्माणका लागि वाम धु्रवीकरणका लागि छलफल मात्रै गरिएको बताए । उनले त्यो वैचारिक कम्यूनिष्ट पार्टीको नेतृत्व नेकपा एकीकृत समाजवादीले मात्रै गर्ने बताए ।
बामपन्थी नेता घनश्याम भुसालको आगमन नयाँ र वैचारिक कम्यूनिष्ट पार्टी बनाउने अभियानकै निरन्तरता भएको उनको भनाइ छ । उपमहासचिव खतिवडाले नेता घनश्याम भुसाल स्वघोषणा गरेर हालै एकीकृत समाजवादीमा आएकोे र अहिले वामदेव गौतम र भीम रावललाई पनि पार्टीमा ल्याउन प्रयास भइरहेको बताए । उनले आगामी साढे ४ वर्षपछि हुने स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीले एक्लै निर्वाचन लड्ने हैसियत बनाउने बताउँदै कार्यकर्तालाई दोधारे भएर नबस्न आग्रह गरे । ‘आउँदो निर्वाचनमा कसैसँग गठबन्धन पनि नगर्ने गरी पार्टी बनाउँछौं, त्यसका लागि तीव्र रुपमा संगठन निर्माणमा जुटौं’ उनको कार्यकर्तालाई अपील छ । उनले नयाँ कम्यूनिष्ट पार्टीका रुपमा स्थापित गर्नका लागि प्रशिक्षण, छलफल र वैचारिक बहस बढाइने बताए । नागरिकहरुले समस्याबाट मुक्ति पाउन नसकेकाले त्यस्ता समस्याहरुलाई सम्बोधन गर्नका लागि समाजवादीका नेताहरु लाग्नुपर्नेमा उनले जोड दिए ।
भेटघाटमा पार्टीका पोलिटब्यूरो सदस्य डा. कृष्ण पन्थ, केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य भगवती घिमिरे, प्रदेश सदस्यहरु राजेन्द्र पाण्डे, थानेश्वर भट्टराई, जिल्ला अध्यक्ष अविराम विश्वकर्मा, उपाध्यक्ष चिनबहादुर गुरुङ, जिल्ला सचिव सरिता श्रीस लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij