
मंगलवार , माघ १७, २०७९
भैरहवा, १७ माघ ।
सिद्धार्थनगर क्षेत्रको पर्यटन प्रवर्द्धन र रोजगारी सिर्जना गरी होटल व्यवसायलाई व्यवस्थित तथा प्रभावकारी बनाउन १० दिने साना होटल तथा लज व्यवस्थापन तालिम प्रदान गरेको छ ।
सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजना एवं नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, काठमाडौंको सहकार्यमा होटल कसरी चलाउने सम्पूर्ण प्याकेज कुकिङ, हाउस किपिङ, सर्भिस र फ्रन्ट अफिसलगायतको विषयमा केन्द्रित भइ तालिम दिइएको हो ।
नगरभित्रका २६ जना होटल व्यवसायी, कार्यरत कर्मचारी, होटल व्यवसाय गर्न इच्छुक र विद्यार्थीहरूलाई तालिम प्रदान गरिएको नगरपालिकाका अधिकृत कमलकान्त खनालले जानकारी दिए । सञ्चालन गरिरहेको होटललाई के कसरी थप व्यवस्थापन गर्ने, रोजगारी सृजना गर्न र क्षमता अभिवृद्धि गरी यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न स्वरोजगार बन्न सहयोग पुगेस भन्ने लक्ष्यका साथ तालिमको आयोजना गरिएको अधिकृत खनालले बताए ।
माघ ४ गतेदेखि १२ गतेसम्म भैरहवास्थित होटल पौवा मा साना होटल तथा लज व्यवस्थापन तालिम सञ्चालन भएको थियो । कोरोनाका कारण पर्यटन तथा होटल व्यवसाय थला परेकोले यस व्यवसायलाई पूर्वावस्थामा ल्याउन तालिमले थप सहयोग पुग्ने तालिममा सहभागी होटल व्यवसायीले बताए । तालिमबाट हामीलाई समयसापेक्ष ज्ञान तथा सीप प्रदान भएको र यसलाई व्यवहारमा उतारी थप व्यवस्थित रुपमा होटल सञ्चालन गर्न सहयोग पुग्ने तालिममा सहभागी रोशन बहादुर थापाले बताए ।
तालिममा धेरै कुरा सिक्ने मौका पाइएको सहभागी सीमा पौडेलले बताइन् । आगामी दिनमा नगरपालिकाले एडभान्स कोर्स समेत सञ्चालन गर्नुपर्ने उनको माग छ । तालिममा सहभागी रमाकान्त भट्टराईले तालिम निकै नै उपलब्धीमूलक भएको बताए ।
१० दिने तालिममा होटल सञ्चालनका लागि आधारभूत सबै क्षेत्रलाई समेटेर तालिम प्रदान गरिएको सहयोगी संस्था नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यक्रम संयोजक अशोक उपाध्यायले बताए । करिब सय बढी चाइनिज, इण्डियन, कन्टीनेन्टीयल, ब्रेक फास्ट, सुप, डेजर्ट, सलाद, थाली खाना, र खानाका परिकारहरुको तालिम दिएको आयोजकको भनाइ छ । यसले होटलमा काम गर्नेहरुका लागि र होटल सञ्चालन गर्ने तयारीमा रहेका सबैले प्रत्यक्ष रुपमा लाभ लिएका छन् । तालिमको सुजन कार्की, तुलसी भण्डारी र श्रीराम तिमिल्सिनाले सहजीकरण गरेका थिए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले नगरबासी युवायुवतीका लागि स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । उनले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गरिने बताए ।
होटल व्यवसायी महासंघ, नेपालका केन्द्रीय उपमहासचिव राजेश महोत्राले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे ।
चेम्बर अफ कमर्श रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष अनिल कुमार ज्ञवालीले तालिम लिएर होटल व्यवसाय सञ्चालन गर्दा व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए । उनले यस्ता तालिमले स्वदेशमै स्वरोजगार सिर्जना गर्न सहयोग पुर्याउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij