
आइतवार , माघ २२, २०७९
भैरहवा, २२ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीले आइतबार गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन । मन्त्री किराँतीले अन्तर्राष्ट्रिय विमानस्थलको रोकिएको उडान पुन सञ्चालन र नियमित गराउने सन्दर्भमा चासो राखेका हुन् ।
निरीक्षणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल नेपाल एयरलायन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताए । उनले अहिले रोकिएको उडान सुचारू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसलाई गौतमबुद्व विमानस्थलमा ल्याउनेबारे तत्काल पहल थाल्ने बताए ।
उनले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कुटनीतिक र मन्त्रालय स्तरकाट प्राविधिक समस्या हल गर्ने प्रतिवद्वता व्यक्त गरे । उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कुटनीतिक पहल गर्ने बताए । मन्त्री किराँतीले प्रधानमन्त्री प्रचण्डको भारतीय भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेण्डा राख्ने बताए ।
‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थल सञ्चालनका लागि रूटको विषय मुख्य एजेण्डामा पर्छ, श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ’ उनले भने । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुने उनको भनाइ थियो ।
निरीक्षण अघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा उनले विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिए । उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गरे ।
लुम्बिनी विकास कोषका अध्यक्ष समेत रहेका मन्त्री किराँतीले लुम्बिनी गुरुयोजना बाहिर गएर कुनै पनि काम गर्न नपाइने बताए ।
उक्त अवसरमा पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए । मन्त्री किराँती समक्ष विमानस्थलका महाप्रबन्धक गोविन्द प्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानीय र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए । मन्त्री किराँतीले टर्मिनल भवन, टावर, पार्किङ, विशिष्ट कक्ष, धावनमार्गको निरीक्षण गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij