२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

भैरहवामा सिद्धार्थ इन्टरनेशनल होटल सञ्चालनको तयारीमा

आइतवार , माघ २२, २०७९

भैरहवा, २२ माघ ।
२४ वर्षअघि गुल्मीबाट कैलालीमा झरेका चिन्तामणी (लक्ष्मण) न्यौपानेले चाउमिन, समोसा विक्री गर्ने सामान्य ग्रामीणस्तरको खाजा पसल सुरु गरेका थिए । टीकापुरमा सुरु गरेको खाजापसलले नाम अनि दाम कमाउँदै गयो । त्यसपछि न्यौपाने बन्धुहरुले पछि फर्केर हेर्नुपरेन । सामान्य खाजा पसलबाट सुरु भएको न्यौपाने बन्धुहरुको अहिले २५ वर्ष पुग्दा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.को नामबाट देशका विभिन्न स्थानमा होटल, रेष्टुरेन्ट, क्याफे लगायतका सेवामूलक प्रतिष्ठानले राम्रै जरा गाडेको छ । 

२४ वर्षमा २४ प्रतिष्ठान बनाइसकेको यो समूहले व्यवसाय सुरु गरेको २५ वर्ष पुग्न लाग्दा भैरहवामा पाँचतारे सिद्धार्थ इन्टरनेशनल होटल सञ्चालनको तयारीमा रहेको छ । 

सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. का अध्यक्ष न्यौपाने स्वदेशमै केही गर्नुपर्छ भन्दै नेपाल भ्रमण वर्ष १९९८ को कार्यक्रम सुरु भएको वर्ष २०५४ माघ २३ गते गुल्मीबाट टीकापुर झरेर चाउमिन विक्री गर्ने सामान्य खाजा पसल सुरु गरेका थिए । 
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. ले आफ्नो व्यवसायिक यात्रालाई यहाँसम्म ल्याइपुर्याउँदा व्यवस्थापकीय साझेदारी तथा आफ्नै एकल लगानी गरी होटल, रेष्टुरेण्ट, रिसोर्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इन्ष्टिच्यूट लगायत हस्पिटालिटी तथा ट्रेडिङ, कृषि उत्पादन, आइटी सेवा लगायतका विभिन्न व्यवसायिक विधाहरूमा सञ्जाल बनाएर संगठित तथा संस्थागत रुपमा अघि बढिरहेको अध्यक्ष न्यौपानेले बताए । 

‘हाम्रो पछिल्लो प्रतिष्ठानका रुपमा निर्माण सम्पन्नका क्रममा रहेको सिद्धार्थ इन्टरनेशनल होटल हो र वैशाखमा सुरुवात गर्दैछौ, होटलको रुम, इभेन्टहरु एवं विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमका लागि बुकिंग सोमबारदेखि सुरु गर्दैछौं, ’अध्यक्ष न्यौपानेले भने । 

सिद्धार्थको व्यवसायिक यात्रा हालसम्म आइपुग्दा ग्रुपको आफ्नै लगानी तथा व्यवस्थापनमा कर्णालीको चिसापानी, बाँकेको नेपालगंज, रुपन्देहीको बुटवल, चितवनको चुम्लिङटार, काठमाण्डौको सुन्धारा, तीनकुने, पुरानो बानेश्वर, बौद्ध, ललितपुरको धोवीघाटमा होटल तथा रेस्टुरेन्ट सेवा सञ्चालनमा छन् ।  

त्यसै गरी एस क्याफे ब्राण्ड नाम रहेका क्याफे सेवाहरूमा बाँकेको नेपालगंज र कोहलपुर, काठमाडौंको तीनकुने, आर्मी अफिसर क्लब जंगी अड्डा परिसर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल परिसरभित्र मनमोहन कार्डियो तथा सुरेश वाग्ले भवनमा क्याफे सेवाहरू सञ्चालनमा छन् । त्यस्तै कन्चनपुरको महेन्द्रनगर, दाङको लमही, कपिलवस्तुको चन्द्रौटा, नुवाकोटको बट्टार, मोरङको विराटनगर, झापाको विर्तामोडमा व्यवस्थापन साझेदारीका रुपमा होटल तथा रेस्टुरेण्ट सेवाहरू सञ्चालन भएको न्यौपानेले बताए ।

‘ग्रुपको सबैभन्दा ठुलो प्रतिष्ठानका रुपमा नेपालगंजमा चारतारे होटलका रुपमा सन् २००८ बाटै सञ्चालनमा छ भने सबैभन्दा ठुलो परियोजनाका रुपमा भैरहवामा निर्माणसम्पन्न क्रममा रहेको पाँचतारे होटल हो न्यौपानेले भने, ‘भैरहवामा होटल निर्माण सुरु गर्दा कोरोना संक्रमण सुरु भएको थिएन्, त्यसपछि कोरोना सुरु भयो, तर पनि हामी आतिएनौ, निर्माण जारी राख्यौं र अहिले सम्पन्नका क्रममा छौं ।’

भैरहवा अञ्चलपुर चोकबाट २ सय मिटर पश्चिमतर्फ मायादेवी गाउँपालिका वडा नम्बर ८ मा अवस्थित सिद्धार्थ इन्टरनेशनल होटल ४ विघा क्षेत्रफलमा फैलिएको छ ।

डिलक्स, एक्ज्यूकेटिभ स्वीट, स्वीट र प्रेसिडेन्ट स्वीट गरी चार स्तरमा वर्गीकरण गरिएका जम्मा ८५ कोठा रहेको गु्रपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण प्रसाद न्यौपानेले बताए । होटलमा लबि लाउन्ज, अल डे डाईनिंग, उत्तरतर्फ धवलागिरी हिमश्रृखंला देखिने रुफ टफ रेष्टुरेन्ट तथा स्विमीङ पुल, फिटनेस, स्पा, साउन, ज्याकुजीसहितको हेल्थ क्लव सेवा, गार्डेन, १२ हजार स्कवायर फुटको ठुलो सभा हल, ३ वटा कन्फ्रेन्स हल र एक मिटिङहल होटलमा रहेको र क्यासिनो समेत सञ्चालन हुने गरी तयारी भइरहेको न्यौपानेले बताए । साढे २ अर्ब लगानी बढीको होटल सञ्चालनमा आउँदा ३ सयले प्रत्यक्ष रोजगारी पाउने उनले बताए । 

IMG20230205171421.jpg

‘पर्यटन विभागमा पाँचतारे होटलमा सूचीकृत गर्न निवेदन दिइसकेका छौं, उनले भने, ‘माघ २३ गते हाम्रो व्यवसाय सुरु भएको २५ वर्ष पुग्छ र यही हामी आउँदो २०८० वैशाख १ गतेबाट सिद्धार्थ इन्टरनेशनल पाँचतारे होटलका रुपमा सञ्चालन गर्ने घोषणा समेत गर्नेछौं ।

व्यवसाय सुरु गरेको २५ वर्षको अवसरमा सोमबार ग्रुपले व्यवसायिक क्षेत्रसँगै सामाजिक उत्तरदायित्व बहन गर्ने उद्देश्यका साथ सिद्धार्थ एशोसिएसन फर केयर एन्ड रेस्पोन्सिबिलिटी (साकार)ले सामाजिक कार्यहरू आफना देशैभरका प्रतिष्ठान मार्फत गर्ने सञ्चालक योगराज कंडेलले बताए । 

आइतबार होटलमा आयोजित पत्रकार सम्मेलनमा व्यवसायको इतिहासदेखि वर्तमानसम्म जानकारी साथै २५ वर्षको कार्यक्रमको बारेमा अवगत गराइएको थियो । सो क्रममा निकट भविष्यमा जुम्लाको ताम्रा, चितवनको सौराहा तथा इलामको कन्याम चियाबगानमा रिसोर्ट तथा पाल्पामा वायोटिकामार्फत कृषि उत्पादन गर्ने लक्ष्य ग्रुपको रहेको छ । त्यस्तै कैलालीको धनगढी, कास्कीको पोखरामा होटल तथा रिसोर्ट सञ्चालन गर्ने आगामी योजना रहेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि.ले जनाएको छ । सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी प्रा.लि. अन्तर्गत अहिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा १ हजार ६ सय जनाले रोजगार पाएका छन् ।

लुम्बिनी प्रेस क्लब, रुपन्देहीकी अध्यक्ष सम्झना शर्माले बुद्ध जन्मस्थल पवित्र भूमि लुम्बिनीको प्रवेशद्वार भैरहवामा सिद्धार्थ इन्टरनेशनल होटल सञ्चालन हुन लाग्नु खुसीको कुरा भएको बताइन् । उनले होटलसँग क्लबले सहकार्य गर्दै अघि बढ्ने बताइन् ।