
सोमवार , माघ २३, २०७९
भैरहवा, २३ माघ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गौतमबुुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । मन्त्री भएपश्चात पहिलोपटक विमानस्थल आएका मन्त्री किराँतीले अन्तर्राष्ट्रिय उडानहरु लुम्बिनीमा ल्याउनका निम्ति सरकारको तर्फबाट कुटनीतिक पहल माथिल्लो तहबाट पनि भइरहेको बताए ।
प्रधानमन्त्रीको तहबाट अब हुने भारत भ्रमणमा एजेण्डाको रुपमा आइएलएस सञ्चालन र एयर रुटको विषय पर्ने जानकारी दिए ।
‘विमानस्थल सञ्चालन र सम्बन्धित् निकाय र शाखाहरु यहाँ आउनु एक अर्काको अन्तरसम्बन्धसँग जोडिएकोले दुबैलाई एकैसाथ अगाडि बढाउन मन्त्रालयले पहल गर्नेछ,’ उनले भने, ‘श्रीलंकाबाट भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ । मन्त्रालयका तर्फबाट हल हुने प्राविधिक समस्या तत्काल सम्बोधन हुनेछ ।’
मन्त्री किराँतीले लुम्बिनी गुरुयोजनाभन्दा बाहिर कसैले जाने साहस नगर्न अनुरोध गरे । ‘सबैभन्दा पहिला यो गुरुयोजना सम्पन्न गर्नुपरेको छ । तोकिएको समयभन्दा २८ वर्ष किन लम्बियो भन्ने मेरो नै प्रश्न हो,’ उनले भने । लुम्बिनी गुरुयोजना पहिलो प्राथमकिता भएको उनको भनाइ छ ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रुटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा समस्या देखिएको, भारतीय नागरिकलाई नोअब्जेक्सन लेटर दिने व्यवस्था नभएको, मौसमको खराबीमा प्रयोगहुने रेडियो नेभिगेसन प्रणाली (ईन्स्ट्रमेन्ट ल्यान्डिङ सिस्टम– आईएलएस) उपकरण उपयोग नहुँदा अन्तर्राष्ट्रिय उडान रोकिएकोमा ध्यानाकर्षण गराउँदै सञ्चालनका लागि पहल गर्न अनुरोध गरे । गौतमबुद्ध विमानस्थलबाट जजिरा र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरे पनि पछिल्लो केही समय रोकिएको छ । न्युज कारखाना
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij