२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मोरारी वापूद्वारा मायादेवी मन्दिरको दर्शन 

सोमवार , माघ २३, २०७९

भैरहवा, २३ माघ ।
भारतका प्रख्यात सन्त मोरारी बापूले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । सन्त वापूलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य विश्वराज पौडेल, सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले स्वागत गरेका हुन् । 

पहिलोपटक लुम्बिनीमा पाइला टेकेका वापूले मायादेवी मन्दिरभित्र रहेको बुद्ध जन्मस्मारक (मार्कन स्टोन), अशोक स्तम्भ, पुष्करणी ताल, पवित्र बगैंचाको जानकारी तथा अवलोकन गरे । वापूले जन्मेपछि बुद्धलाई नुहाइएको पुष्पकरणी ताललाई ढोगेर पानी पिएका थिए । उक्त अवसरमा उपाध्यक्ष भिक्षु मैत्तयले बुद्ध जन्मस्थल लुम्बिनीका बारेमा जानकारी दिएका थिए । उपाध्यक्ष मैत्तयले राजा अशोक स्तम्भमा लेखिएको पाली भाषा नै लुम्बिनीमा बुद्ध जन्मको अकाटय प्रमाण भएको बताए । 

उक्त अवसरमा सन्त वापूले लुम्बिनी विकास कोषको भिजिटि बुकमा बुद्ध जन्मस्थलमा आउन पाउँदा एकदमै शौभाग्यशाली अनुभव गरेको लेखेका छन् । पवित्र पावनधाममा आउन पाउँदा अत्यन्तै खुशी र शान्ति मिलेको वापूले उल्लेख गरेका छन् । सन्त वापूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी पूजा गरेका थिए । 

IMG-20230206-WA0001 (1).jpg

लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा रामकथा प्रेम यज्ञ समितिको आयोजनामा मंगलबार (भोलि)देखि सुरु हुने रामकथा प्रवचनका लागि वापू यहाँ आएका हुन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पाइला टेक्ने इच्छा अनुसार नै वापू लुम्बिनी आएको आयोजकले बताएका छन् । रामकथा प्रेमयज्ञ समितिको आयोजनामा लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा मंगलबारदेखि ९ दिनसम्म कथावाचन हुनेछ । वापूसहितको टोली विमान चार्टड गरेर गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्बिनी आएको हो ।