२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

प्रधानमन्त्री ओलीले विधि मान्नु भएन : घनश्याम भुसाल

आइतवार , पौष १२, २०७७

भैरहवा, १२ पुस । 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य घनश्याम भुसालले प्रधानमन्त्री ओलीले विधि–विधान नमानेको आरोप लगाएका छन् । उनले ओली विधि नमानेर अगाडी बढेको बताए ।

प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तिलोत्तमा नगरपालिकाको ड्राइभर टोलमा आयोजना गरेको कार्यकर्ता भेलालाई आइतबार सम्बोधन गर्दै नेता भुसालले संसद विघटन गर्ने कार्य संविधानविपरीत भएको बताए । उनले संविधान विरोधी कार्य भएकोले संसदको पुनस्र्थापना हुनुपर्ने बताए ।

‘संसदको पूनस्र्थापना हुनेबित्तिकै संविधानको रक्षा हुन्छ, सबै समस्याको समाधान गर्न सजिलो हुन्छ, ’उनले भने ।

हालै मात्रै कृषि तथा पशु विकास मन्त्रीबाट राजीनामा दिएका भुसालले पार्टीले सरकारलाई असहयोग नगरेको दावी गरे । उनले लोकतन्त्रको रक्षा गर्ने संस्था अदालत भएको बताए । ‘जनता सडकमा निस्किए कसैको कुनै केही लाग्दैन, संसदलाई पुनस्र्थापना नगरे अस्थिरता सुरु हुन्छ,’ भुसालले भने ।

कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्व सभामुख ओनसरी घर्तीले कम्युनिष्ट पार्टी सामूहिक रुपमा चल्ने पार्टी रहेको बताइन् । उनले कुनै एक व्यक्तिलाई राष्ट्रपति र प्रधामन्त्री बनाउन लडाइ गरिएको हो भन्दै प्रश्न गरिन् ।

नेकपा केन्द्रीय सदस्य बामदेव क्षेत्री, दधिराम न्यौपानेले केपी ओलीले बहस र छलफल गर्न नचाहेको बताए । नेकपा रुपन्देही सचिव नारायण जि.सी. (निर्मल)को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।