
ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटनामा पुग्यो
सोमवार , पौष १३, २०७७
बुटवल, १३ पुस ।
संसद विघटनपछि नेपालमा विकसित राजनैतिक अन्यौलतालाइ निकास दिन सर्वोच्च अदालतको निर्णय कुर्नुपर्ने सरोकारवालाले बताएका छन् । अदालतमा बिचाराधीन मुद्दामा बाहिर बहस र आन्दोलन गर्नुको अर्थ नरहेको उनीहरुको तर्क छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ओली समूहका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले प्रतिक्रियावादीहरुको चलखेलले पार्टी विभाजन भएको तर्क गरे । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम संवैधानिक भएको तर्क गर्दै प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्रको कुरा भएको भन्दै उनले ओलीको बचाउ गरे । सडकमा भइरहेको आन्दोलनको कुनै तुक नभएको उनको टिप्पणी छ । सडक आन्दोलन के का लागि सर्वाेच्चको विरुद्ध की प्रधानमन्त्री ओलीकोविरुद्ध भन्दै उनले प्रश्न समेत गरे । लुम्बिनी प्रदेशमा अविश्वासको प्रस्तावबारे बोल्दै श्रेष्ठले तत्काल त्यो सम्भावना नरहेको दावी गरे । यदि आइहालेमा फेस गरिने र आए पनि दूर्भाग्य नहुने समेत ठोकुवा गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता युवराज गिरीले प्रधानमन्त्रीको कदम लोकतन्त्रकोविरुद्ध रहेको आरोप लगाए । ओलीको गैरसंवैधानिक र तानाशाही शैलीले देश दुर्घटनामा पुगेकामा उनको चिन्ता थियो । सडक र सदनमा पनि सत्तारुढ दल रहेको भन्दै आफ्नो विवाद मिलाउन नसक्नेले कांग्रेसलाई दोष दिन नहुने तर्क गरे । सर्वाेच्च अदालतमा विचाराधीन मुद्दामा धेरै बहस र विरोध गर्न नहुने भन्दै अदालतलाई प्रभाव पार्ने काम कसैले पनि गर्न नहुने बताए ।
नेता गिरीले अदालतको निर्णयको प्रतिक्षामा कांग्रेस रहेको र त्यो निर्णय नै सर्वमान्य हुने दावी गरे । नेकपाको उन्मातले संविधानमाथि आक्रमण भएको उनको तर्क छ । उनले नेकपा फुट्नु भन्दा जुट्नु नै राम्रो हुने भन्दै जुटका लागि शुभकामना दिए ।
कार्यक्रममा बोल्दै अधिवक्ता तथा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले प्रधानमन्त्री ओलीले चालेको कदम असंवैधानिक, अप्रजातान्त्रिक, जनघाती र आत्मघाती भएको टिप्पणी गरे । दुनियामा सत्य एउटा मात्रै हुने भन्दै चापागाईले सत्यका पछि नलाग्ने पद, शक्ति र सत्ताका पछि लाग्नेहरु अपराधिक काम भएको समेत आरोप लगाए ।
मुलुकमा अनिष्ट निम्त्याउने काम क्षमायोग्य नहुने भन्दै गलत काम गर्ने ओलीकापछि लाग्नेहरु आत्मघाती र संविधान विरोधी भएको आरोप लगाए । अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लबका सचिव कपिल ज्ञवालीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij