२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

मन्त्री पन्थीसहितको टोलीद्वारा बुद्धस्थलको अवलोकन 

शुक्रवार , फाल्गुण ५, २०७९

भैरहवा, ५ फागुन ।
लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थी र लुम्बिनी विकास कोषको टोलीले बिहीबार कपिलवस्तुमा रहेका बुद्धस्थलहरुको अवलोकन गरेको छ । कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र, निग्लिहवा, सगरहवाको अवलोकन गरेको हो । टोलीमा बुद्धस्थलको विकास तथा त्यससँग जोडेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मन्त्रीसहितको टोलीले बुद्धस्थलको स्थलगत अवलोकन गरेको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए । 

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद समेत रहेका मन्त्री पन्थीले गौतम बुद्धको घर नै कपिलवस्तु भएकाले यहाँका बुद्धस्थलको संरक्षणसँगै प्रवद्र्धन गर्ने गरी अन्य विकास गर्ने गरी योजना बनाउन विभिन्न क्षेत्रको अवलोकन गरेको बताए । मन्त्री पन्थीले बुद्धस्थललाई जोडेर पर्यटक आर्कषित गर्न अन्य पर्यटन संरचना निर्माण गर्ने गरी पहल भइरहेको बताए । संघीय, प्रदेश र स्थानीय सरकार, लुम्बिनी विकास कोष र अन्तर्राष्ट्रिय दातृ निकायलाई जोडेर कपिलवस्तुका बुद्धस्थल क्षेत्रमा पर्यटन पूर्वाधार बनाउन पहल थालिएको उनले बताए । मन्त्री पन्थीले कपिलवस्तुमा विश्वकै ठूलो बुद्धमूर्ति स्थापना गरिने बताए । 

उक्त टोलीमा बुद्धमूर्ति स्थापना गर्ने दातृ निकाय वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्जको समेत उपस्थिति रहेको थियो । एसोसिशनले कपिलवस्तुमा विश्वकै ठूलो बुद्धमूर्ति स्थापनाको प्रस्ताव ल्याएको छ । उक्त प्रस्तावपछि मन्त्रीसहितको टोलीले कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित वाणगंगा नदी उकास क्षेत्र जर्लैया सम्भावित बुद्धमूर्ति स्थल हुन सक्ने भन्दै देखाइएको छ । नदी उकास क्षेत्रको अवलोकनअघि कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलसँग छलफल गरिएको थियो । त्यस्तै जगदीशपुर तालको समेत अवलोकन गरिएको थियो । सगरहवामा फागुन २३ गतेदेखि गर्न लागिएको कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला तयारीको सम्बन्धमा पनि लुम्बिनी विकास कोषले जानकारी लिएको छ । 

331395169_858016202130100_4442277425739620398_n (1).jpg

मन्त्री पन्थीसहित लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका पूरातात्व विभागका प्रमुख हिमाल उप्रेती, कपिलवस्तु नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष दीपक गुरुङ, वल्र्ड बुद्धिष्टि रिलिजन एसोसिएशनका उपाध्यक्ष चेङ की सेङ्ज, कोषका कपिलवस्तु शाखा प्रमुख माधवप्रसाद आचार्य,  पत्रकार भेषराज पाण्डे लगायतको उपस्थिति रहेको थियो ।