२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

‘१४ औं लियो कर्पोरेट सुपर सिक्स क्रिकेट’ को उपाधि लक्ष्मी बैंकलाई

सोमवार , फाल्गुण ८, २०७९

भैरहवा, ८ फागुन ।

लियो क्लब अफ सिद्धार्थनगरको आयोजनामा भैरहवामा सम्पन्न ‘१४ औं लुम्बिनी जनरल इन्स्योरेन्स लियो कर्पोरेट डे नाइट सुपर सिक्स क्रिकेट टुर्नामेन्ट’ को उपाधि लक्ष्मी बैंक लिमिटेडले जितेको छ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा १२ वटा टीमको सहभागीतामा शनिबार भएको खेलको उपाधि लक्ष्मी बैंकले जितेको हो । एनएमबी बैंक लिमिटेडलाई ७ रनले पराजित गर्दै लक्ष्मी बैंकले उपाधि जितेको हो । हारसँगै गत वर्षको विजेता एनएमबी बैंकले उपविजेतामा चित्त बुझाएको छ ।

एनएमबीले टस जितेर सुरुवाती ब्याटिङ गरेको लक्ष्मी बंैकले निर्धारित ५ ओभरमा २ विकेट गुमाउँदै ८७ रन बनायो । उसका लागि बसिम खानले अविजित सर्वाधिक ३२ रन र अनुप राउतले २२ रनको योगदान गरे । बलिङतर्फ एनएमबीका अनिल बर्तौला र विवेक चौधरीले समान १–१ विकेट लिए ।

जवाफमा ८८ रनको लक्ष्य पाएको एनएमबीले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै ८० रन मात्र जोड्न सक्यो । लक्ष्य पार गर्न नसकेपछि ७ रनले हार व्यहोरेको एनएमबीका लागि ओमकार श्रेष्ठले अविजित ६४ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एनएमबीलाई सस्तैमा समेट्नका लागि बलिङतर्फ लक्ष्मी बैंकका महेश शाहीले २, सम्राट क्षेत्री र अनुप राउतले १–१ विकेट लिए । अन्तिम खेलमा लक्ष्मी बैंकका ओमकार श्रेष्ठ म्यान अफ द म्याच भए ।

प्रतियोगिता आईसीसी सुपर सिक्स टुर्नामेन्टको नियमअनुसार रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोग र समन्वयमा लिग चरणमा भएको हो । पहिलो सेमीफाइनलमा लक्ष्मी बैंक र सिद्धार्थ बैंकबीच भएकोमा लक्ष्मी बैंक विजयी भइ फाइनलमा पुगेको थियो भने दोस्रो सेमिफाइनल आइसीएफसी र एनएमबीच भएकोमा एनएमबी विजयी भइ लक्ष्मीसँग फाइनल खेलेको क्लबका अध्यक्ष सतिश भुसालले बताए । विगत १३ वर्षदेखि हुँदै आएको कर्पोरेट प्रतियोगिता यस क्षेत्रमा रहेको बैंक, कर्पोरेट हाउस र सामाजिक क्षेत्रमा क्रियाशील युवाबीच आपसी भाइचारा स्थापित गर्दै क्रिकेट प्रतिभाहरुलाई प्रस्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना हँुदै आएको छ । प्रतियोगिताबाट संकलित रकम सामाजिक क्षेत्रमा खर्च गरिने क्लबका अध्यक्ष भुसालले बताए ।

प्रतियोगिताको विजेताले रु. २० हजार नगद, ट्रफी र प्रमाणपत्र उपविजेताले रु. १० हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाएको छ ।

प्रतियोगितामा एनएमबी बैंक, लक्ष्मी बैंक, सानिमा बैंक, नबिल बैंक, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा डेभलपमेन्ट बैंक, सिद्धार्थ बैंक, नेपाल एसबीआई बैंक, आइसीएफसी फाइनान्स, लुम्बिनी विकास बैंक र कुमारी बैंकको सहभागीता रहेको कार्यक्रम संयोजक मनिष ढकालले बताए ।

प्रतियोगिताको मुख्य प्रायोजक लुम्बिनी जनरल इन्स्योरेन्स तथा सह–प्रायोजक साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेड र युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) रहेका थिए । लियो क्लब अफ सिद्धार्थनगरले विगत १८ वर्षदेखि सामाजिक क्षेत्रमा कार्य गर्दै आएको पूर्वअध्यक्ष अरुण पन्थीले बताए ।