२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

पैचो पसल सातौं वर्षमा प्रवेश 

सातै प्रदेशमा पैचो उत्पादन, यसै वर्ष पोखरामा भेजिटेबल मार्ट खोल्ने

बुधवार , पौष १५, २०७७

बुटवल, १५ पुस ।
नेपालमा कृषिमा आधारित एक मात्र प्रशोधन केन्दमार्फत पहाडी उच्च पहाडी अर्गानिक उत्पादन गद आएको पैचो पसलले ६ वर्ष पुरा गरेको छ । ६ वर्ष पहिला पहाडी र उच्च पहाडी कृषि उपजको बजारीकरण गर्ने उद्देश्यका साथ स्थापना भएको पैचोले ६ वर्षकाबीच नेपालका ७ वटै प्रदेशमा पहाडी र उच्च पहाडी कृषि उपजबाट उत्पादित खाद्य सामाग्री उपलब्ध गराउन सफल भएको दावी गरेको छ । हरेक वर्ष गु्ल्मीको प्रधान कार्यालयमा औपचारिक कार्यक्रम गरी मनाउने गरेको वार्षिक उत्सव पनि यसपटक पैचोले फरक तरिकाले मनाएको छ । कोभिड–१९ को कारण देखाउँदै पैचोले आफ्ना सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम गरी मनाएको हो । पैचोले सातौं वर्ष प्रवेशलाई यो वर्ष रक्तदान, बेसहारासंग सामुहिक भोजन, बजार सरसफाई, मठमन्दिर संरक्षण लगायतका काम गरेर मनाएको छ  ।

बुधबार बिहान पैचोको रुपन्देहीमा रहेका सुख्खानगर, मणिग्राम र होराइजन शाखाको संयोजनमा रक्तदान गरिएको छ । पसलको कर्पोरेट कार्यालय बुटवलमा आयोजित रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । बुटवलस्थित नेपाल अपांग आश्रम देवीनगरका आश्रितहरुसँग आजै पैचोका संचालकहरुले सहभोज गरेका छन् । आश्रममा आश्रित ३० बढी शारीरिक कमजारी रहेकाहरुसँग पैचोका अध्यक्ष दुर्गा प्रसाद भण्डारी, विष्णु ज्ञवाली, पदम बञ्जाडे, राजन पौडेल लगायतले सहभागिता जनाएका थिए । त्यस्तै सरसफाई कार्यक्रम अन्तर्गत तानसेन पाल्पा शाखाको आयोजनामा तानसेनको प्रसिद्ध भगवती मन्दिर परिसर तथा बीपी चौकमा सरसफाई कार्यक्रम सम्पन्न भएको पैचोले जनाएको छ ।

उता पैचोको उत्पादन विभाग, रिडी र अर्गली शाखाले हिन्दुहरुको पवित्रधाम ऋषिकेशधाम सरसफाई गरेको छ । स्थानीय जनप्रतिनिधि, उद्योगी व्यवसायी तथा प्रहरीको समेत सहभागितामा ऋषिकेश मन्दिर सरसफाई गरिएको उत्पादन विभाग प्रमुख प्रकाश थापाले बताए । रिडिस्थित संस्कृत विद्यालयका बिद्यार्थीहरुलाई न्यानो पोशाक समेत उपलब्ध गराइएको उनले बताए ।
पैचोको प्रधान कार्यालय रहेको रुरुक्षेत्र ४ वलेटक्सारमा पनि पैचो आबद्ध किसान, कर्मचारी तथा संचालकहरुले बलेटक्सार बजार सरसफाई गरेका छन् । प्रधान कार्यालयमा आयोजित सरसफाईसहितको कार्यक्रममा यस वर्षको वर्ष किसानको सम्मानसहित कृषि क्षेत्रमा योगदान गर्ने किसानहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्थानीय उद्योग वाणिज्य संघका अध्यक्ष तोया नारायण ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

पैचोका शाखाहरु रहेको दिगाम, खैरेनी र हुँगामा पनि स्थानीय मठमन्दिर तथा बजार सरसफाई कार्यक्रम सम्पन्न भएको पैचो पसलका महाप्रबन्धक सुमन बरालले बताए । गुल्मीको सदरमुकाम तम्घासमा पैचोका कर्मचारीहरुसहितको टिमले बसपार्क सरसफाई गर्नुका साथै उपल्लो तम्घासमा रहेको अपांग आश्रममा रहेका अपांगहरुलाई दिवा भोजन गराएको छ ।

तम्घास शाखाको संयोजनमा भएको सामूहिक भोजन र सरसफाई कार्यक्रममा स्थानीय जनप्रतिनिधिसहित उद्योग वाणिज्य संघ तथा होटल पौवाका कर्मचारीहरुले सहभागिता जनाएका थिए । पैचोले व्यवसायिक कार्यसहित सामाजिक उत्तरदायित्व पनि निभाउँदै गएको पैचोका प्रबन्ध निर्देशक ध्रुव न्यौपानेले बताए ।

पैचोको वार्षिकोत्सवका सबै कार्यक्रमहरुमा होटल पौवाले सक्रिय सहभागिता जनाएको पैचो पसलका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले जानकारी दिए । सातौं वर्ष प्रवेश गर्दै गर्दा पैचोले आगामी वर्षमा गण्डकी प्रदेशको राजधानी पोखरामा पहाडी तथा उच्च पहाडी तरकारी फलफूलको मार्ट खोल्ने तयारी गरेको जनाएको छ