२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

ओमसतियामा कामका लागि पारिश्रमिक आयोजना शुभारम्भ

बिहिवार , फाल्गुण १८, २०७९

भैरहवा, १८ फागुन ।

रुपन्देहीको ओमसतिया गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिक आयोजना बिहिबारदेखि वडा नम्बर ५ बाट शुभारम्भ भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा रोजगारीका लागि सूचीकृत भएका स्थानीयहरुलाई रोजगारी दिने उद्देश्यले आयोजना सुरु गरिएको रोजगार संयोजक अमृता पाण्डेले बताइन् । जम्मा ६३ जना सूचीकृत भएकामध्ये वडा नम्बर ५ मा २५ जनालाई रोजगारी दिइएको पाण्डेले जानकारी दिइन् । छानिएका २५ जनालाई न्यूनतम १ सय दिनको रोजगारी सुनिश्चित गरिएको छ । उनीहरुलाई दैनिक ५ सय ७७ रुपैयाँका दरले पारिश्रमिक दिइने पाण्डेको भनाइ छ । छानिएका २५ जना महिला श्रमिकले दैनिक ७ घण्टा काम गर्नेछन ।

उनीहरुलाइ वडाकै सार्वजनिक एवं ऐतिहासिक स्थलहरुको सरसफाई तथा मर्मत, कुलो कुलेसो मर्मत लगायतका काममा लगाइने गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडाका अध्यक्ष मदन प्रसाद पोखरेलले बताए । पहिलो चरणमा वडा नम्बर ५, ४ र ३ का कामदार छानिएको पोखरेलले जानकारी दिए । काम गर्दा स्थानीय एवं घरेलु औजार प्रयोग गरिने उनको भनाइ छ ।

आयोजनाको उदघाटन गर्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले पाएको रोजगारको गुनासो नआउने तरिकाले काम गर्न निर्देशन दिए । बेरोजगार अवस्थामा रहेका विपन्न नागरिकलाई रोजगारी दिने उद्देश्यले ल्याइएको यो कामको सदुपयोग गर्न समेत उनले आग्रह गरे । ‘तपाईहरुलाई गाउँपालिकाले सूचीकृत गरेको छ, यति एक सय दिनको लागि मात्र होइन आगामी दिनमा पनि तपाईहरुलाई काममा लगाउने गाउँपालिकाको नीति रहेको छ ।’ यादवले भने, ‘गुनासो नआउने गरी काम गर्नुहोला ।’

कामका लागि पारिश्रमिक आयोजनाको सहजीकरण रोजगार प्रविधिक शैलेन्द्र गुप्ता र रोजगार सहायक मनोज कुमार गुप्ताले गरेका थिए ।