२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

पर्यटकमैत्री व्यवहारका लागि सुरक्षाकर्मीलाई तालिम प्रदान 

आइतवार , फाल्गुण २१, २०७९

भैरहवा, २१ फागुन ।
लुम्बिनी विकास कोषले सुरक्षाकर्मीहरुलाई पर्यटकमैत्री बोली व्यवहार र चुस्त सुरक्षा व्यवस्थाका लागि सुरक्षा नीति अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा देश विदेशबाट पर्यटकहरु आउने भएकाले ५७ जना सुरक्षाकर्मीलाई ४ दिने अभिमुखीकरण तालिम प्रदान गरिएको हो । आर्थिक वर्ष ०७९/८० को वार्षिक कार्यक्रमअनुसार फागुन १६ देखि १९ गतेसम्म २ चरणमा ५७ जना सुरक्षाकर्मीलाई तालिम प्रदान गरिएको कोषले जनाएको छ । 

तालिम समापनलाई सम्बोधन गर्दै कोषका वरिष्ठ प्रशासकीय अधिकृत ज्ञानिन राईले लुम्बिनी आउने पर्यटकको पहिलो भेट नै सुरक्षाकर्मीसँग हुने भएकाले पर्यटकमैत्री व्यवहार र सुरक्षाकर्मीले अपनाउनुपर्ने सतर्कताबारे पुर्नताजकी गराउन तालिम आयोजना गरिएको बताए । उनले पर्यटकलाई सुरक्षाकर्मीले गर्ने व्यवहार नै लुम्बिनी विकास कोषको स्वागत हुने बताए । 

तालिम समापनमा कोषका सूचना अधिकृत राजन बस्नेत, सशस्त्र प्रहरीका सहायक निरीक्षक राम बहादुर कार्की, सुरक्षा अधिकृत खगेन्द्र काफ्ले लगायतको उपस्थिति रहेको थियो । 

तालिमका क्रममा पर्यटकमैत्री व्यवहार, आचरण, पर्यटकको सुरक्षा र सुरक्षाकर्मीले निभाउनुपर्ने भूमिकाका विषयमा प्रहरी, सशस्त्र प्रहरी र कोषका पदाधिकारी तथा विभिन्न शाखाका प्रमुखहरुले सहजीकरण गरेका थिए । तालिमको उद्घाटनमा कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराईको उपस्थिति रहेको थियो ।