२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

‘उद्योगी–व्यवसायीका समस्या समाधानका लागि सहकार्य गरेर अघि बढ्छौं’

शुक्रवार , फाल्गुण २६, २०७९

भैरहवा, २६ फागुन । 
उद्योगी–व्यवसायीका समस्या समाधान गर्न सहकार्य गरेर अघि बढ्ने निजी क्षेत्रका दुई संघ–संस्थाले प्रतिवद्धता व्यक्त गरेका छन् । बिहीबार भैरहवामा पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई स्वागत तथा परिचयात्मक कार्यक्रममा उक्त प्रतिवद्धता व्यक्त गरिएको हो ।

चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले सिद्धार्थनगर–९ उदयपुरस्थित संगठनको सभाहलमा आयोजना गरेको कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले पछिल्लो समय उद्योगी–व्यवसायी ठूलो समस्यामा परेका कारण समाधानका लागि सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले उद्योगी व्यवसायीको हकहितका लागि आवाज उठाउँदै आएको बताए । उनले चेम्बर अफ कमर्स, रुपन्देही निजी क्षेत्रको प्रतिनिधित्व गर्ने स्थापित संस्था भएको बताए । उनले भने, ‘यस संस्थामा करिब ५ हजार उद्योगी व्यवसायी आबद्ध छन् । संस्थाले उद्योगी व्यवसायीलाई आपत–विपतमा सहयोग गर्दै आएको छ । विकास निर्माणमा सहयोगका साथै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको छ ।’ अध्यक्ष ज्ञवालीले चेम्बर अफ कमर्स, रुपन्देही र पोखरा चेम्बर अफ कमर्स, कास्कीबीच सहकार्य गर्दै उद्योगी व्यवसायीको समस्या समाधान गर्न अघि बढ्ने बताए ।

उनले कोभिड–१९ का कारण प्रभावित भइ बल्लबल्ल सञ्चालन भएका उद्योग–व्यवसाय पछिल्लो समय आर्थिक मन्दी, बैंकको उच्च बैंक ब्याजदरका कारण पुनः धरासायी हुने अवस्थामा पुगेको बताए । उनले प्रत्येक चेम्बर अफ कमर्स एकजुट भएर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई भैरहवामा स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित भएका छौं ।’

त्यस्तै पोखरा चेम्बर अफ कमर्स, कास्कीका अध्यक्ष यमनाथ पौडेलले पेशा व्यवसायलाई मर्यादित बनाउन र संरक्षण गर्न संस्थाले काम गर्दै आइरहेको बताए । उनले भने, ‘महान उद्देश्यले अगाडि बढ्यौं भने संस्थालाई चलायमान बनाउन सक्छौं । ’ उनले पोखरा चेम्बर अफ कमर्स उत्कृष्ट चेम्बर अफ कमर्सको रुपमा समेत सम्मानित भइसकेको जानकारी दिए । उनले सम्पूर्ण व्यवसायलाई अपनत्व र संरक्षण हुने गरी संस्थाले काम गरिरहेको बताए । उनले गण्डकी प्रदेश सरकारबाट पनि पोखरा चेम्बर अफ कमर्सले गरेको राम्रो कामको मूल्यांकन भएको बताए । उनले भने, ‘संस्थाले निजी क्षेत्रको छाता संगठनको रुपमा भूमिका निर्वाह गर्दै आएको छ ।’

चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीको स्वागत तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

IMG_0915.JPG

पोखराको आन्तरिक पर्यटन प्रवद्र्धनको लागि अन्तर चेम्बर भ्रमण आदानप्रदानसहित तीनदिने पर्यटन प्रर्वद्धनात्मक कार्यक्रमअन्तर्गत बिहीबार भैरहवा आइपुगेको पोखरा चेम्बर अफ कमर्स, कास्कीको टोलीलाई चेम्बर अफ कमर्स, रुपन्देहीले स्वागत गरेको हो ।