
शनिवार , फाल्गुण २७, २०७९
भैरहवा, २७ फागुन ।
‘जीवनीमा चलचित्र निर्माण र अन्तर्राष्ट्रिय बजार’ विषयक तीनदिने कार्यशाला गोष्ठी लुम्बिनीमा हुने भएको छ । बौद्ध दर्शन र जीवनीका आधारमा चलचित्रको निर्माण गर्दै विश्वव्यापी रुपमा बजारीकरण गर्ने विषयमा आगामी चैत १७ देखि १९ गतेसम्म कार्यशाला हुन लागेको हो ।
चन्द्रसूर्य सिनेमाको आयोजना तथा चलचित्र पत्रकार संघ रुपन्देहीको सहकार्यमा हुन गईरहेको सो कार्यशाला गोष्ठीको बारेमा जानकारी गराउँदै सो विषयकै सेरोफेरोमा अन्तरक्रिया तथा पत्रकार भेटघाट भैरहवामा सम्पन्न भएको छ ।
यही चैत १७, १८ र १९ गते लुम्बिनीमा हुने सो कार्यशाला गोष्ठीका सन्दर्भमा आयोजित अन्तरक्रियामा बोल्ने वक्ताहरुले चलचित्र क्षेत्रको निर्माण र विस्तारसँगै बजार व्यवस्थापनमा निकै कठिनाइ रहेको बताएका छन् । लगानी सुरक्षित गर्न नेपालमा जीवन्त चलचित्र बन्नुपर्ने भन्दै गौतमबुद्धको जीवनीमा समेत फिल्म बने र यसका बारेमा हरेक कुराको प्रचार गर्न सके पर्यटनसँगै चलचित्र उद्योगको समेत विकास हुने सो कार्यक्रमका वक्ताहरुले जोड दिएका थिए ।
सो कार्यक्रममा नेपाली सिने जगतका वरिष्ठ कलाकार, सरोकारवाला, पत्रकार, पर्यटन व्यवसायी, लगायतको उपस्थिति रहने चलचित्र बोर्डका पूर्व सदस्य विमल पौडेलले बताए । रुपन्देही, नवलपरासी तथा कपिलवस्तुको सम्पूर्ण स्थानीय तहको सहभागीता तथा चलचित्र विकास बोर्ड, पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार, लुम्बिनी विकास कोष, उद्योग वाणिज्य संघ, चलचित्र पत्रकार संघ तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको सहकार्यमा यो कार्यशाला गोष्ठी लुम्बिनी साँस्कृतिक नगरपालिकाको अभिभावकत्व रहने नेपाल चलचित्र निर्माण संघका केन्द्रीय सचिव किसान पोख्रेलले बताए ।
कार्यक्रममा लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतले कार्यशाला गोष्ठी सञ्चालन गर्न कोषले सहयोग गर्ने बताए ।
त्यस्तै सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले चलचित्र क्षेत्रको विकासले पर्यटन प्रवद्र्धनमा समेत टेवा पुर्याउने बताए । उनले गौतमबुद्धको जीवनीसँग सम्बन्धित चलचित्र निर्माण हुन लाग्नु खुसीको विषय भएको बताए । उनले भने, ‘चलचित्रले दिने सन्देशले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ ।’
सिद्धार्थ होटल एशोसियशनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले बुद्ध जन्मस्थल लुम्बिनीमा हुल लागेको कार्यक्रम स्वागतयोग्य भएको बताए ।
लुम्बिनी प्रेस क्लबका सल्लाहकार मनोरञ्जन शर्माले चलचित्रलाई जीवन्त बनाउन पूर्णिमाका दिन भएका भगवान बुद्धका जीवनमा भएका घटनाहरु समावेश गर्नुपर्ने बताए ।सञ्चारकर्मी मनिष पन्थले देशभक्ति चलचित्र खासै किन चल्दैनन् भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा संस्कृतिविद् प्रा.डा. गितु गिरी, शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्याल, प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थी, लुम्बिनी प्रेस क्लब रुपन्देहीकी अध्यक्ष सम्झना शर्मा लगायतले बोल्दै कार्यक्रमलाई सफल बनाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
रुपन्देहीका पालिका प्रमुख, होटल व्यवसायी, पर्यटन व्यवसायी, यातायात व्यवसायी, लुम्बिनी विकास कोष, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन चलचित्र पत्रकार संघ रुपन्देहीका सचिव बिकास गौतमले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij