२०८३, बैशाख ९ गते

Apr 22 2026 | २०८३, बैशाख ९ गते

बालविकास सहजकर्ताको पारिश्रमिक मासिक १७ हजार पुर्‍याउन शिक्षक संघ मर्चवारीको माग

आइतवार , फाल्गुण २८, २०७९

  • 2.2K
    Shares
  • 2.2K
    Shares
  • भैरहवा, २८ फागुन ।
    नेपाल शिक्षक संघ मर्चवारी गाउँपालिका, रुपन्देहीले बालविकास सहजकर्ताको पारिश्रमिक मासिक रु. १७ हजार पुर्‍याउन माग गरेको छ । संघले आइतबार गाउँपालिकालाई ज्ञापनपत्र बुझाउँदै बालविकास सहजकर्तालाई संघीय सरकारबाट रु. १० हजार र स्थानीय तहबाट रु. ७ हजार थप गरी १७ हजार पुर्याउन माग गरेको हो ।

    त्यस्तै विद्यालय कर्मचारी (कार्यालय सहयोगी) को हकमा संघीय सरकारबाट रु. ८ हजार र स्थानीय तहबाट रु. ७ हजार गरी मासिक रु. १५ हजार पुर्‍याउन माग गरेको छ ।

    त्यसै गरी गाउँपालिका शिक्षकको हकमा नेपाल सरकारले तोकेको स्केल बमोजिम तलब भत्ता प्रदान गर्ने र ती शिक्षकहरुलाई दशैं खर्च र पोशाक खर्च समेत उपलब्ध गराउन ज्ञापनपत्रमार्फत माग गरिएको शिक्षक संघ मर्चवारी गाउँपालिकाका अध्यक्ष प्रमोद यादवले बताए । मर्चवारी गाउँपालिकामा कार्यरत बालविकास सहजकर्ता, कार्यालय सहयोगी र गाउँपालिका शिक्षकहरुले विगत लामो समयदेखि न्यून पारिश्रमिकमा सेवा गर्दै आएकाले शिक्षक कर्मचारीको सेवा सुविधा स्थानीय तहले पनि केही रकम व्यवहोर्नुपर्ने सरकारले व्यवस्था गरेकाले ज्ञापनपत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराइएको शिक्षक संघ मर्चवारी गाउँपालिकाका सचिव केशव उपाध्यायले बताए ।

    ज्ञापनपत्र बुझेपछि गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले नेपाल शिक्षक संघको मागप्रति गाउँपालिका सकारात्मक रहेको बताउनुभएको उपाध्यायले जानकारी दिए ।

    ज्ञापनपत्र बुझाउन नेपाल शिक्षक संघ मर्चवारी गाउँपालिकाका अध्यक्ष प्रमोद यादव, सचिव केशव उपाध्याय, रामप्रसाद हरिजन, श्याम नारायण यादव, अनिल यादव लगायत मर्चवारी गाउँपालिकाको कार्यालय पुगेका थिए ।