
आइतवार , चैत्र १९, २०७९
भैरहवा, १९ चैत ।
अर्थमन्त्री डा. प्रकाशशरण महत र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानबीच काठमाण्डौंमा भेटवार्ता भएको छ । सिद्धार्थनगरको विकासका लागि अर्थमन्त्री महत र प्रमुख खानबीच ‘वान टू वान’ भेटवार्ता भएको नग प्रमुखको सचिवालयले जनाएको छ ।
नगरको विकासका लागि नगर क्षेत्रमा ठूला परियोजनाहरु सञ्चालन गर्नका लागि अर्थमन्त्री र नगर प्रमुखबीच छलफल भएको छ’ नगर प्रमुखका स्वकीय सचिव बरकत बादशाह शेषले भने, ‘जसमा अर्थमन्त्री सकारात्मक हुनुहुन्छ ।’
भेटवार्तामा नगरप्रमुख खानले अगामी आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाको बजेट थप वृद्धि गर्न गरेको आग्रहमा पनि अर्थमन्त्री सकारात्मक रहेको र अगामी आर्थिक वर्षमा बजेट वृद्धि हुनमा आफुहरु आशावादी रहेको उनले बताए ।
नगरको विकासका लागि नगरप्रमुखको नेतृत्वमा नगरपालिकाको टोली आइतबार काठमाडौं पुगेको हो ।
यसैक्रममा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा, शहरी विकास मन्त्रालय समन्वय महाशाखा, वित्तीय संघीयता समन्वय महाशाखा र शहरी विकास मन्त्रालयका अधिकारीहरुसँग समेत भेटवार्ता गरेर विकासका लागि विभिन्न विषयमा छलफल भएको र नगरको विकासका लागि सबै सकारात्मक रहेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले बताए ।
नगरको विकासका लागि नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को अर्बन रेजिलेन्स एण्ड लिभ्लीहुड इम्प्रुभ परियोजना (यू.आर.एल.आई.पी) संचालनको प्रक्रियामा छ । परियोजना छिट्टै सञ्चालनको लागि पनि पहल गरिरहेको उनले बताए । उनले अन्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपालले नगरको विकासका लागि आफू सकारात्मक रहेको र एडीबीको परियोजना सञ्चालनको सुरुवाती चरणमा आफू नगरपालिकामा आउने जानकारी गराएको बताए ।
यस परियोजनाअन्तर्गत नगरपालिकामा भौतिक पूर्वाधारको निर्माण र पर्यटन क्षेत्रमा डण्डा करिडोरको विकासका लागि प्रक्रिया अघि बढेको सिद्धार्थनगर नगरपालिकाका इञ्जिनियर साकार श्रेष्ठले जानकारी दिए ।
‘नगरको विकासका लागि विभिन्न स्थानमा छलफल–बैठक गरिरहेका छौं’ नगरप्रमुख खानले भने, ‘जहाँ जहाँ छलफल–बैठक गरेका छौं त्यहाँ सबै सकारात्मक हुनुहुन्छ, आगामी दिनमा नगरमा विकासका ठूला परियोजनाहरु सञ्चालन हुनेमा आशावादी छौं ।’
नगरको विकासका लागि आफुहरुले विभिन्न निकायहरुमा पहल थालेको र क्रमशः विकास योजनाहरु सञ्चालन हुने उनले बताए । उनले विकासका ठूला परियोजना सञ्चालनका लागि प्रक्रियागत अघि बढ्नुपर्ने हुँदा केही समय लाग्ने गरेको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij