२०८३, बैशाख ७ गते

Apr 20 2026 | २०८३, बैशाख ७ गते

विवाद निरुपण गर्न निर्वाचन आयोगद्धारा नियमावली संशोधन

दल विभाजनको प्रावधान पनि राखियो 

बुधवार , पौष २२, २०७७

  • 3.6K
    Shares
  • 3.6K
    Shares
  • काठमाडौं, २२ पुस । 
    निर्वाचन घोषणा भइसकेपछि उत्पन्न विवाद निरुपण गर्न निर्वाचन आयोगले नियमावली संशोधन गरेको छ । विगतको प्रावधानलाई हटाउदै निर्वाचन घोषणापछि पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलभित्रको विवाद निरूपण गर्न सक्ने गरी प्रावधान राख्दै दलसम्बन्धी नियमावली संशोधन गरिएको हो । 

    राजनीतिक दलसम्बन्धी नियमावली २०७४ मा रहेको प्रावधानलाई आयोगको बैठकले संशोधन गर्ने निर्णय गरेको जनाइएको छ । यसअघि राजनीतिक दलसम्बन्धी नियमावलीमा निर्वाचनको अवधिभर दलहरूबीचको विवाद निरूपण गर्ने प्रावधान थिएन । नियमावलीमा रहेको उक्त प्रावधान संशोधन नगरी हाल नेकपाभित्र उत्पन्न विवाद निरुपण नहुने र निर्वाचनमा जान सक्ने अवस्था नदेखेपछि आयोगले नियमावली संशोधन गरेको हो ।

    निर्वाचनको मिति घोषणापछि अलमलको अवस्था नहोस्, राजनीतिक स्थायित्व होस्, दलहरु चुनाव प्रचारप्रसारमा जुटून र निर्वाचनको वातावरण बनोस् भन्ने हेतुले विगतमा नियमावलीमा यो अवधिमा विवाद निरुपण नगर्ने प्रावधान राखिएको थियो । नेकपाभित्रको विवादसँगै उक्त प्रावधान हटाइएको आयोगले जनाएको छ ।

    त्यसै गरी राजनीतिक दलका केन्द्रीय समिति र संसदीय समितिको ४० प्रतिशत सदस्यको हस्ताक्षरसहित दल गठन गर्न सक्ने व्यवस्था रहे पनि निर्वाचन अवधिभर गरिने छैन भन्ने प्रावधानलाई पनि आयोगले संशोधन गरेको छ । नेकपाभित्रको विवाद निरुपण गर्ने सन्दर्भमा कुनै एक पक्षले आधिकारिकता प्राप्त गरेपछि अर्काे पक्षलाई दर्ता गर्न रोक्दा निर्वाचनको प्रतिष्पर्धामा सहभागी हुने अवसरबाट वञ्चित हुने अवस्था देखेपछि आफ्नो अधिकार क्षेत्रभित्र रही आयोगले नियमावलीको संशोधन गरेको बताएको छ ।