२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

वैदेशिक रोजगार व्यवस्थापन शाखा भैरहवाबाट सार्ने निर्णय फिर्ता लिन संघको माग

बुधवार , चैत्र २२, २०७९

भैरहवा, २२ चैत । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले भैरहवास्थित वैदेशिक रोजगार व्यवस्थापन शाखा सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । भैरहवा तथा यस आसपासमा आर्थिक चलायमानमा सहयोग पुग्ने तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरुलाई सहयोग पुग्ने उद्देश्यले स्थापना गरिएको सो कार्यालय बुटवल लैजानुको कुनै औचित्य नरहेको संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए ।

स्थानीय सरोकारवाला तथा विभिन्न संघ–संस्थाको पहलमा गत २०७९ असार १ गतेदेखि  वैदेशिक रोजगारका लागि अनलाइनमार्फत श्रम स्वीकृतिसम्बन्धी सेवा प्रदान गर्ने उद्देश्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश जाने श्रमिक युवाहरुलाई सहज सेवाका लागि  स्थापना भएको वैदेशिक रोजगार व्यवस्थापन शाखा भैरहवाबाट सञ्चालन भएको श्रेष्ठले बताए ।

‘२०७९ चैत २१ गतेदेखि बन्द गरी पूर्ण रुपमा श्रम तथा रोजगार कार्यालय बुटवलमा सार्ने र त्यहाँबाट सेवा प्रवाह हुने गरी गरिएको निर्णय तत्काल फिर्ता लिनुपर्छ, ’श्रेष्ठले भने ।

जिल्ला प्रशासन कार्यालय अगाडी रहेको भवनबाट सेवा प्रवाह हुँदै आएको र सोही सेवालाई जारी राख्नुपर्ने उनले बताए । उक्त कार्यालय भैरहवाबाट सार्न नहुने विषयमा बुलन्द रुपमा आवाज उठाउन स्थानीय सरकार, राजनीतिक दल, सञ्चारकर्मी तथा सरोकारवालालगायत सबैले दबाब दिनुपर्ने र त्यसको समन्वयका लागि संघ तयार रहेको उनले बताए ।

स्थानीय रवि पन्तले वैदेशिक रोजगार व्यवस्थापन शाखा भैरहवाबाट सञ्चालन हुनुपर्ने बताए । उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा छ । यही विमानस्थलबाट श्रमिकहरु विदेश जाने भएकाले  श्रमिकको सहजताका लागि शाखा भैरहवामा नै हुनुपर्छ ।’

श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीका शाखा अधिकृत केशव भट्टराईले श्रम, रोजगार तथा श्रम मन्त्रालयको स्वीकृति तथा लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पत्रबाट कार्यालयको पत्रअनुसार बुटवलबाट सेवा प्रदान गरिएको बताए ।

श्रम तथा रोजगार कार्यालय बुटवल, रुपन्देहीले चैत १९ गते सूचना जारी गर्दै लुम्बिनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पत्रबाट कार्यालयको भवन श्रम तथा रोजगार कार्यालय बुटवल नै प्रयोग गर्ने गरी फिर्ता भएको जनाएको छ ।

‘श्रम, रोजगार तथा श्रम मन्त्रालयको पत्रबाट श्रम तथा रोजगार कार्यालयको सेवा साविकमा लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय रहेको श्रम तथा रोजगार कार्यालयको आफ्नै भवनबाट सञ्चालन गर्नको लागि स्वीकृति प्रदान भएकोले मिति २०७९/१२/२१ गतेदेखि वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लगायतका सम्पूर्ण सेवाहरु बुटवल उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको साविकको लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भवनबाट हुने व्यहोरा सम्बन्धित सबै सरोकारवालाको जानकारीको लागि अनुरोध छ, ’सूचनामा उल्लेख छ ।

sara.jpg