
बुधवार , पौष २२, २०७७
दाङ, २२ पुस ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा विघटन गर्ने कार्य बेमौसमी बाजा भएको बताएका छन् । राष्ट्रिय जनमोर्चा लमही नगर कमिटीले आयोजना गरेको पत्रकार भेट्घाट कार्यक्रममा बोल्दै केसीले दलको आपसी किचलोले संविधानमै व्यवस्था नभएको संसद विघटन भएको भन्दै पुर्नस्थापना हुनुपर्ने माग समेत गरे ।
उनले भने, ‘मुलुकमा कोरोनाले अर्थतन्त्र तहसनहस भएका बेला गर्ने नहुने काम भएको छ, इतिहासमा विघटन भएको संसद पुर्नस्थापन पनि भएको छ, हुनुपर्छ ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले देशमा स्थिरता कायम राख्नको लागि संविधान सुझबुझका साथ बनाएको स्मरण गर्दै अस्थिरता सिर्जना गर्न दक्षिणी मुलुकले पटकपटक गरेको मिहिनेत स्वरुप संसद विघटन भएको तर्क गरे ।
केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायलयलाई हातमा लिए जसरी संसद पुर्नस्थापना हुनै सक्दैन भन्नु दुःखद् रहेको भन्दै, राजाले गर्ने काम प्रधानमन्त्रीले गरेको आरोप लगाए ।
उनले भने, ‘हिजो राजाहरुले आफू अनुकल नभए ड्याम्म संसद विघटन गर्थे अहिले जनताको दुईतिहाइको मत पाएका जनताका छोराले राजाकै शैलीमा संसद विघटन गराए, नाटक देखाए ।’ मुलुक उल्टो दिशामा हिंडेको भन्दै अध्यक्ष केसीले प्रधानमन्त्रीले संसदको सामना नगरिकन प्रतिनिधिसभा विघटन गर्ने नमिल्ने बताए ।
संविधान बनाउँदा देशमा अस्थिरता नहोस, सरकार लामो समय चलोस भनेरै धेरै प्रक्रिया पार गरेर पनि सरकार बन्ने अवस्था नभएमा मात्रै निर्वाचनबाट ताजा जनादेशमा जाने कुरा उल्लेख भए पनि संविधान नै नपढी संसद विघटन गरेको उनको आरोप थियो । उनले एमसीसी कुनैपनि हालतमा नेपालको हितमा नभएको बताए । एमसीसीमार्फत नेपालमा विकास हुन्छ भन्ने भ्रम मात्रै हो, बरु नेपालमा बसेर अमेरिकाले चिनलाई घेराबन्दी योजना हो ।
संघीयताका कारण जनताले राजनीतिप्रति वितृष्णा व्यक्त गर्ने गरेको भन्दै सानो मुलुकमा संघीयताको कामै नभएको ठहर उनको थियो । हामी सिंहदरबारको एउटा संसद चलाउन अवस्थामा छैनौ सिंहदरबारसहित देशका आठ वटा सरकार चलाउनै सकिदैन, राज्यले धान्नै सक्दैन उनले भन्ने ।
राष्ट्रिय जनमोर्चा लमही नगर उपाध्यक्ष ताराप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत बसन्त आचार्यले गरेको थिए भने कार्यक्रमको सहजीकरण लेखराज आचार्यले गरेका थिए । केसीले बिहीबार घोराहीमा संसद विघटनको विरोधमा हुने विरोधसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij