
बिहिवार , पौष २३, २०७७
भैरहवा, २३ पुस ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराले विप्लव समुहदेखि राजासम्म अटाउने गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । उनले विप्लव समुहदेखि राजासम्म अटाउने वातावरण बने देश समृद्धितर्फ जाने दावी गरे ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता बोहराले विप्लवहरु पनि मूलधारमा फर्केर निर्वाचनमा आउनुपर्ने र त्यसको वातावरण सरकारले बनाउनुपर्ने बताए । सरकारले सबै पक्षलाई बोलाए विप्लव समुह पनि वार्तामा आउने उनले बताए । यो वातावरण बन्यो भने नेपालले फड्को मार्ने उनको भनाइ छ । हिन्दु राष्ट्र र राजालाई स्थान दिए मुलुकको समस्या समाधान हुने उनले दावी गरे ।
‘सक्रिय राजा हामीले खोजेका छैनौं, राजालाई यही संविधानको मातहतमा रहेर एक किसिमको आलंकारिक/धार्मिक वा कुनै प्रकारको राष्ट्रअध्यक्ष बनाउन खोजिएको हो, अहिले राष्ट्रपतिको गतिविधि ज्यादै निराशाजनक भएको छ, ’उनले भने ।
प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गर्ने कदम असंवैधानिक भएको र अदालतको निर्णय सबैले मान्नुपर्ने उनले बताए । तर संसद पुनस्र्थापना भए पुनः फोहोरी खेल सुरु हुने बोहराले बताए । फोहोरी खेलबाट जनताको हकअधिकार स्थापित नहुने उनले बताए ।
‘अदालतको निर्णय मान्छौं, तर राप्रपाको सोच ताजा जनादेश नै हो, ताजा जनादेश नै अहिलेको निकास हो, ’बोहराले भने । प्रधानमन्त्री ओलीको कदम अदालतले सदर गरे निर्वाचनमा जानु नै उत्तम विकल्प हुने उनले बताए । जनताले पनि ताजा जनादेश खाजेको उनको भनाइ छ ।
‘४–५ वर्ष पहिले सडकबाट गणतन्त्रको विरोधमा नारा लगाउने परिकल्पना गर्न सकिन्थेन, तर अहिले जनताले निराशाको अभिव्यक्ति सडकबाट गरिरहेको छ, गणतन्त्रको विरोधमा सडकमा नारा घन्किएको छ । स्वतस्र्फत रुपमा खासगरी युवा जमातले यस्ता नारा लगाएका छन्, ’बोहराले भने ।
‘संसद विघटनको मुद्दाबारे माघभित्र निर्णय भए प्रधानमन्त्री ओलीले वैशाखमा निर्वाचन गराउनुहुन्छ, प्रधानमन्त्रीले तोकिएको अवस्थामा निर्वाचन गर्ने अवस्था छ, ’उनले भने । निर्वाचनको लागि राप्रपाले तयारी थालिसकेको बोहराले बताए । वैशाखमा निर्वाचन भए पार्टी निर्वाचनमा जाने र नभए पार्टीको महाधिवेशन गरिने उनले बताए ।
एक मात्र हिन्दु राष्ट्र नेपाललाई सुनियोजित ढंगले पश्चिममा मुलुकको दबाबमा धर्मनिरपेक्षता ल्याइएको र तीव्र गतिमा धर्म परिवर्तन गराइएको उनले बताए । तर धर्म परिवर्तन गराउने कार्यमा लाग्ने एक जनालाई पनि सजाय नगरिएको उनले बताए । धार्मिक स्वतन्त्रतासहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने र जनमत संग्रह गर्नुपर्ने उनले बताए । जनमत संग्रह गरिए हिन्दु राष्ट्र कायम हुने उनले बताए ।
पाँच वर्षको लागि दुईतिहाई बहुमत पाएको र जनताले सरकारलाई दुईतिहाई बहुमत बनाउन सहयोग गरे पनि सरकारले जनतालाई निराश बनाएको उनले बताए । सरकारले जनतालाई कुनै सुख–सुविधा पु¥याउन नसकेको र कोभिड–१९ को अवस्थामा पनि सरकारले जनताको लागि केही गर्न नसकेको उनले आरोप लगाए । नेकपाभित्रको आन्तरिक प्रतिष्पर्धाका कारण संसद विघटनको अवस्थासम्म पुगेको उनले बताए ।
लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणा, उपाध्यक्ष अजय कुमार गुप्ता, शंकर खत्री, धर्म के.सी., स्वाती थापा लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij