
सोमवार , चैत्र २७, २०७९
भैरहवा, २७ चैत ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला श्रीपाली ठकुरीले पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास नै आर्थिक समृद्धिको आधार भएको बताएकी छन् । उनले समृद्धि लेखेर, बोलेर, भाषण गरेर व्याख्या गरेर नआउने बताइन् ।
आइतबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै उनले पर्यटन क्षेत्रको विकासले रोजगारी सिर्जना गर्न सकिने बताइन् । राज्यमन्त्री श्रीपालीले भनिन्, ‘समृद्धि खोज्ने हो । ’ उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा प्रश्न उठेको बताइन् । उनले भनिन्, ‘विमानस्थललाई सुचारु र व्यवस्थित गर्नुपर्छ । टीकाटिप्पणी आइरहन्छ । कहिलेसम्म पूर्ण रुपमा सञ्चालनमा आउने कुरा भन्न नसकिए पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायु सेवा निगमको जहाज सञ्चालन गर्न पहल गर्छु । ’
उनले छिटो भन्दा छिटो विश्वासको वातावरण सिर्जना गरी अघि बढ्नुपर्नेमा जोड दिइन् । उनले विमानस्थलको पहिचान आफै दिनुपर्ने बताइन् ।
पछिल्लो समय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न माग गर्दै निजी क्षेत्रले उठाइरहेको आवाजबारे पनि आफू जानकार रहेको जनाउँदै उनले यसले सरकार र जिम्मेवार निकायलाई थप सक्रियता गराउने बताइन् ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले विमानस्थल सञ्चालनको पाटोमा सबैको जिम्मेवारी रहेको बताए । उनले राष्ट्रिय ध्वजाबाहक र हिमालय एअरलायन्सको विमानबाट उडान गर्नुपर्ने बताए । उनले केवल निजी विमानस्थलले उडान भर्नेबारे नसोची राष्ट्रिय ध्वजाबाहक विमानस्थलबाट उडान सञ्चालन गर्नुपर्ने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij