
सोमवार , चैत्र २७, २०७९
भैरहवा, २७ चैत ।
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता दीपक बोहराले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनका लागि विभिन्न व्यवसायिक संघ-संस्थाले गरेको धर्नाप्रति ऐक्यवद्धता जनाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) लगायत दर्जनौं संघ-संस्थाको पहलमा विमानस्थल सञ्चालनमा ल्याउन गरिएको पहल र ऐक्यवद्धताप्रति सांसद् बोहराले ऐक्यवद्धता जनाएका हुन् ।
‘राज्यको अरबौं रुपैयाँ खर्च गरी निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनमा ल्याउन सरकारकोतर्फबाट पहल नगर्नु र चासो नदिनु दुर्भाग्यपूर्ण रहेको छ, सांसद् बोहराले ऐक्यवद्धता जनाउँदै जारी गरेको पत्रमा उल्लेख छ । ’
यो विमानस्थल पूर्णरुपमा सञ्चालनमा नआउँदा विमानस्थल निर्माण गर्दा भएको व्ययभार मात्र नभइ व्यवसायीको लगानी समेत डुब्ने अवस्थामा पुगेकोप्रति जनप्रतिनिधिको हैसियतले आफ्नो गम्भिर ध्यानाकर्षण भएको उनको भनाइ छ ।
पूर्वमन्त्री समेत रहेका बोहराले छिटो भन्दा छिटो विमानस्थल पूर्ण रुपमा ल्याउन सरकारसँग माग गर्दै व्यवसायिक संघ-संस्थाहरुको पहल र धर्नाप्रति ऐक्यवद्धता जनाएका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा सञ्चालनको माग गर्दै निजी क्षेत्र सम्बद्ध विभिन्न संघ–संस्थाहरुले विमानस्थल अगाडि गत शुक्रबार धर्ना दिएका हुन् ।
बोहरा गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij