२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

अर्थमन्त्री महत र बुटवल नगरप्रमुख पाण्डेयबीच भेटवार्ता

मंगलवार , चैत्र २८, २०७९

बुटवल, २८ चैत । अर्थमन्त्री प्रकाशशरण महत र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ ।

अर्थ मन्त्रालयमा भएको भेटका क्रममा नगरप्रमुख पाण्डेयले बुटवलमा सञ्चालित संघीय आयोजनाहरु समयमै पूरा हुने गरी पर्याप्त बजेटको व्यवस्था गरिदिन अनुरोध गरे ।

उनले बुटवलको मुख्य सडक, तिनाउ करिडोर, सिद्धबाबा सुरुङमार्ग, झुम्सा खानेपानीसहितका योजनाहरु समयमै पूरा हुने गरी सम्बन्धित संघीय कार्यालयहरुलाई निर्देशन दिन र आवश्यक बजेटको व्यवस्था गरिदिन अनुरोध गरे।

भेटका क्रममा उनले बुटवलबाट प्रदेशको राजधानी दाङ गएपछि बुटवलका बासिन्दा निराशा र असन्तुष्टि रहेकाले बुटवलबासीमा उर्जा थपिनेगरी बजेटमार्फत सम्बोधन गर्न अनुरोध गरे । उनले संघ सरकारले निर्माण गरेका आयोजनाहरु स्थानीय सरकारलाई हस्तान्तरण गर्न र स्थानीय सरकारको समेत अपनत्व हुने गरी कार्यक्रम ल्याउन अनुरोध गरे ।

राजस्व संकलनदेखि कानून निर्माण र कार्यान्वयनमा संघीयताको मर्मअनुसार कतिपय काम हुन नसकेको बताउँदै नगरप्रमुख पाण्डेयले वित्तिय संघीयता र स्थानीय सरकार आत्मनिर्भर हुने गरी राजस्व बाँडफाँडमा चासो दिन पनि अनुरोध गरे ।

उनले आर्थिक रुपमा सबैतिर निराशा छाइरहेको अवस्थामा संघीय सरकारले उपयुक्त नीति ल्याउँदै जनतामा आशा जगाउनुपर्ने र सोहीअनुसारका कार्यक्रम ल्याउनुपर्ने राय व्यक्त गरे ।

भेटका क्रममा अर्थमन्त्री महतले सरकारले छिटै नै नीतिमा सुधार गर्दै जनतामा छाएको निराशा हटाउने गरी काम गरिरहेको बताएका थिए । उनले बुटवलको विकासका लागि आफु सधै सकारात्मक रहेको र बुटवलको चित्त बुझ्ने गरी काम हुनेमा विश्वास दिलाए ।