
बिहिवार , पौष २३, २०७७
भैरहवा, २३ पुस ।
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले सीमा नाका खुला गर्न माग गरेको छ । संघले कोरोना संक्रमणबाट बच्न र बचाउन नेपाल सरकारबाट जारी गरिएका मापदण्ड तथा सुरक्षाका उपाय अवलम्बन गरी नाका पूर्ण रुपमा खुला गरी यस क्षेत्रको पर्यटकीय गतिविधि बढाउने वातावरण मिलाउन आग्रह गरेको छ । संघले बुधबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेमार्फत संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाललाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो ।
विगत १० महिनादेखि कोभिड–१९ को जोखिम कम गर्न भन्दै सरकारद्धारा बन्द गरिएको नेपाल भारत सीमा नाका विशेष गरी स्थलमार्ग हुँदै सबैभन्दा धेरै पर्यटक आउने बेलहिया–सुनौली नाका खुला हुनुपर्ने संघले माग गरेको छ ।
कोरोनाको असर कति समयसम्म रहने भन्ने विषय हामी कसैलाई पनि थाहा नभएको अवस्थामा अन्य राष्ट्रहरुमा समेत सुरक्षित रहँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान एवं पर्यटकीय गतिविधिहरु संचालन भइरहेको यथार्थतालाई मध्यनजर गरी नाका सञ्चालन हुनुपर्ने संघका कार्यसमिति सदस्य तथा पर्यटन समिति संयोजक संजय बजिमयले बताए ।
कोरोनाको कारण लगातारको बन्दको कारण संचालनमा आउन नसकेकोेले बैंक ब्याज, घरभाडा, कर, विभिन्न सरकारी राजस्व , कर्मचारी तलब आदि भुक्तानी गर्नुपर्ने दबावले पर्यटन, उद्योगी, व्यवसायीहरु ज्यादै मर्कामा परेको र व्यवसायबाट पलायन हुने वा टाट पल्टने अवस्थामा पुगिसकेका छन्, ज्ञापनपत्रमा उल्लेख छ ।
विद्यमान कोभिड–१९ को विषम परिस्थितिमा संक्रमण नियन्त्रणको लागि सरकार, स्थानीय प्रशासन एवं सुरक्षा निकायबाट जारी गरेको नीति निर्देशनहरुलाई पालना गर्दै गत चैत्र ११ गतेदेखि करिब ६ महिना लामो निरन्तरको लकडाउन तथा निषेधाज्ञाको पूर्ण रुपमा पालना गरी पर्यटन व्यवसायीहरुले आ–आफ्ना सबै व्यवसायिक गतिविधिहरु पूर्ण रुपमा बन्द गरी सरकारलाई पूर्ण सहयोग गरिरहेको यहाँमा अवगत नै छ, ज्ञापनपत्रमा भनिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा सिद्धार्थ उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ लगायत पदाधिकारीहरुको उपस्थिति रहेको संघका कार्यकारी सचिव आनन्द खनालले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij