गुणस्तरीय शिक्षा भनेको समानता, सक्षमता, सृजनशीलता, विनयशीलता, सकारात्मक सोच, क्रियाशिलता, सामाजिक भावना, दया, माया र मानवताको समग्र विकास हो । राष्ट्रिय उद्देश्य प्राप्तीकालागि तयार गरिएका पाठ्यक्रम, पाठ्यपुस्तक, भौतिकपूर्वाधार, सिकाइ वातावरण, विषयगत शिक्षकको योग्यता, शिक्षण कला, पेशाप्रतिको जवाफदेहीता, शैक्षिक व्यवस्थापन, अनुगमन, निरीक्षण, सुपरीवेक्षण, मूल्यांकन प्रणाली गुणस्तरीय शिक्षामा प्रभाव पार्ने तत्व हुन् ।
आधारभूत मानवीय गुण, ज्ञान, सीप, क्षमता र आचरण आर्जन गरी सभ्य, शिष्ट, नैतिकवान, चरित्रवान, सुसंस्कृत, कर्तव्यनिष्ठ, कर्मशील, गतिशील, अनुशासित, स्वावलम्बी, आत्मनिर्भर, समझदारी, आदर्श, नागरिक तयार गर्न सक्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । व्यवहारिक दृष्टिकोणमा सिकाइमार्फत मानवीय व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्ने, व्यवहारिक समस्याहल गर्न सक्ने, कामप्रति सम्मान गर्ने, उद्यमशील, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय जगतमा योगदान दिन सक्ने नागरिक तयार गर्ने शिक्षा नै गुणस्तरीय शिक्षा हो । के परीक्षामा घोक्ने र कण्ठस्थ पार्ने र परीक्षामा वमन गर्ने र उच्च अंक ल्याउने शिक्षा गुणस्तरीय शिक्षा हो ? के विद्यालयको शैक्षिक गुणस्तर शिक्षकको एकल प्रयासबाट मात्र सम्भव छ ? होइन, गुणस्तर सुधार गर्नअसल नेतृत्व दक्ष शिक्षक, जिज्ञाशु विद्यार्थी, महत्वाकांक्षी अभिभावक, सरोकारवाला र नीतिनिर्माताहरुको साझा प्रयत्नबाट मात्र सम्भव छ । शैक्षिक गुणस्तर सुधारका आधारभूत मापदण्डहरुलाई यसरी नियाल्न सकिन्छ ।
असल नेतृत्वः शैक्षिक गुणस्तर सुधारको लागि योग्य सक्षमक्षमतावान दूरदृष्टि र दृढ इच्छाशक्ति भएकाव्यक्तिलाई प्रधानाध्यापकको जिम्मेवारी दिइनुपर्दछ ।
दक्षशिक्षकः शैक्षिक गुणस्तर सुधारको केन्द्रीयभूमिका शिक्षकको रहेको हुन्छ । विद्यालयमा योग्य, सक्षम, जाँगरिला, समर्पित, शिक्षणलाई जागिरको रुपमा भन्दापनि जिम्मेवारीको रुपमालिएर सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्नसक्ने, सकारात्मक सोच भएका आधुनिक प्रविधिसँग परिचित उत्कृष्ट जनशक्तिलाई शिक्षणमा प्रवेश सुनिश्चितगरिनुपर्दछ ।
जिज्ञासु विद्यार्थीः विद्यालयमा बालबालिका सामाजिक, पारिवारिक, आर्थिक, मनोवैज्ञानिक भय, चिन्तारहित भएर सिक्न सदैव तत्पर रहनुपर्दछ ।
व्यवहारिक सिकाइः सिकाइ परीक्षामुखी मात्र नभएर कुनै पनि प्रकारको डर, त्रासरहित वातावरणमा आधुनिक प्रविधिको प्रयोग गर्दै रचनात्मक, सिर्जनशील प्रयोगात्मक, खोजमूलक, स्थलगत भ्रमणमा आधारित, अनुसन्धानमूलक, परियोजनाकार्यमा आधारित हुनुपर्दछ ।
सिकाइ वातावरणः विद्यालयको भौतिकपूर्वाधार बालबालिकाको सर्वोच्चता कायम भएको बालमैत्री पढौं पढौं लाग्ने सुसज्जित कक्षा कोठा, स्वच्छ सफाखानेपानीको व्यवस्था, उपयुक्त फर्निचर, उपयुक्त व्यवस्थित खेलमैदान, सुरक्षित कम्पाउण्ड घेराबार, मनोरम हरियाली वातावरण, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, डिजिटल सामग्री (कम्प्युटर, ल्यापटप, स्मार्ट बोर्ड आदि) प्रत्येक कक्षामा सिकाइ कुना, चमेना गृह, शिक्षकतथा छात्रछात्रा आवासको व्यवस्था शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक पर्दछन् ।
समुचित व्यवस्थापनः विद्यालयको शैक्षिक भौतिक आर्थिक पक्षहरु चुस्तदुरुस्त र पारदर्शी हुनुपर्दछ । विद्यालय सुधार योजनानिर्माण सामाजिक परीक्षण तथाअन्य योजना निर्माण तथा निर्णय प्रक्रियामा समुदायको सार्थक र निर्णायक सहभागीता गराउनुपर्दछ । विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ विद्यालयको व्यवस्थापकीय पक्षमा जिम्मेवार, जवाफदेही र उत्तरदायी बन्नुपर्दछ । विद्यालयको शैक्षिक गुणस्तर कायम गर्न शिक्षक अभिभावकको अहम् भूमिका हुन्छ ।
प्रविधिमैत्री सिकाइ सामग्रीः गुणस्तरीय शिक्षाको लागि पाठ्यक्रम, पाठ्यपुस्तक, सन्दर्भ सामग्री, शिक्षक निर्देशिका सहज र सरल रुपमा उपलब्ध हुनुका साथै सिकाइ सामग्रीहरु बालबालिकाको रुची र चाहनाअनुकूल सान्दर्भिक, रुचिकर, समय सापेक्ष, रचनात्मक र आजको विज्ञान तथा प्रविधिको युगमा प्रविधिमैत्री हुनुपर्दछ ।
शैक्षिक गतिविधिको समयानुसार सञ्चालन गर्ने, नियमित अनुगमन तथा सुपरीवेक्षण गर्न सकेमात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिन्छ । शिक्षकको एकल प्रयास गुणस्तर सुधारमा सार्थक बन्न सक्दैन । सबैको साझा प्रयासमा मात्र शैक्षिक गुणस्तर सम्भव छ । केही सामूदायिक विद्यालयहरुले पनि अंग्रेजी माध्यमको खोल ओढेर विद्यार्थीहरुको निःशुल्क पढन पाउने अधिकारलाई घात गरी यो या तो बहानामा शुल्क असुल्ने गरेको पाइन्छ ।
निजी विद्यालयको जस्तो नीति गर्ने हो भने कि सबै निजीकरण गर्नुपर्यो कि त परीक्षामा जसरी पनि उच्च अंक ल्याउनुपर्ने परीक्षामुखी शिक्षा प्रणालीलाई गुणस्तरीय शिक्षाको मापदण्ड बनाइनुहुँदैन । शिक्षाको व्यवहारिकता नै आजको आवश्यकता हो । दिक्षितलाई प्रमाणित पागल बनाउनुहुँदैन । शिक्षकले पनि शिक्षणलाई जागिरको रुपमा भन्दापनि जिम्मेवारीको रुपमा बोध गर्न सके सबै बालबालिकालाई आफ्नै छोराछोरी समान सिकाइ गर्न सके गुणस्तरीय शिक्षाको मूल मर्म व्यवहारिक सुधारलाई आत्मसात गर्दै सबल पक्षलाई दृढताका साथ कार्यान्वयन गरे मात्र विद्यालयको शैक्षिक गुणस्तर सुधार सम्भव छ ।