शुक्रवार, आश्विन ५ गते २०८०

व्यवसायी भन्छन्, : ‘तस्करी रोक्न अब सीमामा धर्ना दिन्छौं’ 

व्यवसायी भन्छन्, : ‘तस्करी रोक्न अब सीमामा धर्ना दिन्छौं’ 

images
images

खबर पात्रो

२, जेठ २०८०
  • 14.2K
    SHARES
  • व्यवसायी भन्छन्, : ‘तस्करी रोक्न अब सीमामा धर्ना दिन्छौं’ 

    भैरहवा, २ जेठ ।
    सीमा नाकामा कडाई नहुँदा स्वदेशी व्यवसाय मारमा परेको भैरहवाका व्यवसायीहरुले गुनासो गरेका छन् ।
    मंगलबार सिद्धार्थ उद्योग वाणिज्य संघले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले खुल्ला सीमाका कारण नेपाली उपभोक्ता भारतीय बजारमा किनमेल गर्न जाने र भन्सार छलेर सामान ओसारपसार गर्दा भैरहवा क्षेत्रका खाद्यान्न तथा कपडा पसलहरु धमाधम बन्द हुँदै गएकोे बताए ।

    अब सीमामा व्यवसायी आफै उपस्थित भएर निगरानी बढाउने र सशस्त्र प्रहरी तथा भन्सारसँग सहजीकरण गर्ने सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताए । उनले भने, ‘हामीले सीमामा आफै गएर भए पनि अब अवैध चोरीपैठारी रोक्नुपर्छ । संघले आह्वान गरेको समयमा दवावका लागि सीमामा उपस्थित हुन पनि अध्यक्ष श्रेष्ठले सबैमा अनुरोध गरेका छन् ।

    images
    images

    सीमामा व्यवसायीले झोला चेकजाँच गर्ने नभई भन्सार कर्मचारी तथा प्रहरीलाई सहयोग गर्ने मात्र आफूहरुको उद्देश्य रहेको संघका वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले स्पष्ट पारे । ‘हाम्रो उपस्थितिले प्रहरी प्रशासनलाई दबाब पर्छ, ’उनले भने ।

    कार्यक्रममा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य भीष्म प्रसाद न्यौपानेले संघले सधै उद्योगी व्यवसायीको हितमा काम गर्ने भन्दै घरभाडा घटाउन पहल गर्ने र सीमा कडाई गर्न दबाब दिने बताए । 

    संघका पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष कुल प्रसाद न्यौपानेले आर्थिक मन्दीका कारण मर्कामा परेका व्यवसायीलाई बिना भन्सार आयात भएका सामानसँग प्रतिष्पर्धा गर्न कठिन भएको बताए । अहिले व्यवसाय ७० प्रतिशत घटेको उनले बताए ।

    संघका पूर्वअध्यक्ष तथा भैरहवा मर्निङवाक समूहका अध्यक्ष ओमकार गौचनले भैरहवाको बैंकरोडका फेन्सी पसलहरु धमाधम बन्दै हुँदै गएको बताए । ‘दिनभर पसलमा बस्दा उदेक लाग्छ, ’उनले भने । सीमा नाकाबाट हुने चोरी तस्करी रोक्न नसके संघको औचित्य नहुने उनले चतावनी दिए । 

    संघका महासचिव कृष्ण प्रसाद घिमिरेको सञ्चालन तथा संघका कार्यसमिति सदस्य एवं अटो व्यवसायी उपसमितिका संयोजक दिनेशमान अमात्यको स्वागतमा सम्पन्न कार्यक्रममा व्यवसायीहरु गोपाल भण्डारी, बी.एन. गुप्ता, पशुपति कान्दु, ऋषिराम पाण्डे, सन्देश चापागाई, केशव ज्ञवाली, अर्जुन प्रसाद जयसवाल, पत्रकार माधव ढुंगाना, राजुनारायण श्रेष्ठ लगायतले बोल्दै भन्सारमा कडाइ गर्न व्यवसायी आफै सक्रिय हुनुपर्ने धारणा राखे ।
     

     

    images
    प्रकाशित मिति :जेठ २, २०८० मंगलवार - २२:१३:०९ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij