
आइतवार , पौष २६, २०७७
अर्घाखाँची, २६ पुस ।
मालपोत कार्यालय अर्घाखाँचीमा अत्याधिक भिड भएपछि सेवालाई प्रभावकारी बनाउनको लागि जिल्लामा रहेका ६ वटा स्थानीय तहमध्ये तीन वटा नगरपालिका र तीन वटा गाउँपालिकाको बार निर्धारण गरी सेवा सुचारी गरिएको छ । जसमध्ये सन्धिखर्क नगरपालिका र छत्रदेव गाउँपालिकाको लागि आइतबार, सोमबार शितगंगा नगरपालिका र पाणिनी गाउँपालिकामा मंगलबार, बुधबार भुमिकास्थान नगरपालिका, मालारानी गाउँपालिकाको लागि बिहिबार, शुक्रबार समय निर्धारण गरिएको मालपोत कार्यालयले जनाएको छ ।
केही दिन अघि सेवा लिन कार्यालयमा आएका छत्रदेव गाउँपालिका वडा नम्बर ५ का स्थानीय लेखनाथ पोखरेलले नामसारीको लागि आएको तर भिड भएकोले काम समयमा नभएको बताए । अहिले पुन बार निर्धारण गरेपछि काम मा केही सहज भएको उनले बताए ।
सशस्त्र द्वन्द्वको समयमा अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क आक्रमण हुँदा लालपुर्जा जलेर नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । केही वर्ष यता विशेष नापी कार्यालयले पुर्जा वितरण सुरु गर्न थालेपछि हाल सम्मका जिल्लाभरका ६१ वटा वडामध्ये २३ वटा वडाका नाप जाँच मालमोत कार्याललाई बुझाइसकेकाले मालपोतमा भएका पुराना श्रेस्ता ठेली, नामसारी, राजीनामा, दाखिला खारेजी, अशंबन्डा, सट्टीपट्टी लगायतका सेवालाई हाल साविक गर्नुपर्ने सेवा नयाँ प्रविधिबाट गरिएको मालपोत कार्यालय अर्घाखाँचीका प्रमुख तारा प्रसाद पोखरेलले बताए ।
यहाँका नागरिकले सहज र अझै सरल तरिकाले कामको अपेक्षा गरिरहेका छन । समयमा काम नहुनु प्रमुख कारण कर्मचारी अभाव पनि मुख्य कारण देखिएको छ । यसमा सम्बन्धित निकायले समयमै ध्यान दिन जरुरी रहेको स्थानीयको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij