
बिहिवार , जेठ ४, २०८०
भैरहवा, ४ जेठ ।
रुपन्देहीको ओमसतिया गाउँपालिकाले वडा नम्बर १ ठुटीपीपलमा रहेका व्यवसायिक पसलहरुमा अनुगमन गरेको छ । अनुगमन समिति संयोजक समेत रहेकी गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरीको नेतृत्वमा प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, लेखा अधिकृत कमल शर्मा, उद्योग व्यवसाय, संघ–संस्था तथा राजस्व शाखाकी अमृता पाण्डेलगायतको टोलीले अनुगमन गरेको छ ।
गाउँपालिकामा सञ्चालित व्यवसायीहरुले मापदण्ड पुरा गरे÷नगरेको, दर्ता भए/नभएको, गुणस्तर, मूल्यसूचीलगायतको विषयमा अनुगमन गरेको थियो । अनुगमन समिति संयोजक चौधरीकाअनुसार यसलाई अब निरन्तर रुपमा अगाडी बढाइनेछ । ‘वडा नम्बर १ देखि अनुगमनको सुरुवात गरेका छौं, यसलाई क्रमशः अन्य वडामा लैजानेछौं ।’ उनले भनिन्, ‘गाउँपालिका दर्ता नभएको धेरै व्यवसाय भेटियो, पहिलोपटक भएकोले दर्ता गर्ने निर्देशनसहित छोडेका छौं ।”
चौधरीले गाउँपालिका अन्र्तगतका सबै उद्योग, व्यवसायिक प्रतिष्ठानलगायत अन्य पसललाई पनि पालिकामा दर्ता हुने आग्रह गरिन् । गाउँपालिकाको आन्तरिक राजस्वतर्फ व्यवसाय दर्ताले विशेष महत्व राखेको उनको भनाइ छ । योजना र बजेट खोज्ने नागरिकले नियमअनुसारको कर तिर्ने दायित्व पनि पूरा गर्न उनले आग्रह गरिन् । आगामी दिनमा दर्ता मात्र नभई पालिका अन्तर्गतका अन्य निकायमा पनि कडाइका साथ अनुगमन गरिने उनले बताइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीले पालिकामा सबै व्यवसाय र उद्योग दर्ता गर्न अनिवार्य रहेको बताए । क्षेत्रीले पनि समयमै पालिकामा व्यवसाय दर्ता गरी गाउँपालिकालाई सहयोग गर्न आग्रह गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij