
सोमवार , पौष २७, २०७७
तिलोत्तमा, २७ पुस ।
ट्रेक्टर व्यवसायीहरुले आफूहरुका समस्या राज्यले सम्बोधन नगरेको गुनासो गरेका छन् । लुम्बिनी ट्रेक्टर समिति तिलोत्तमा–२ रुपन्देहीको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनमा बोल्ने व्यवसायीहरुले यस्तो बताएका हुन । यस क्षेत्रका ट्रेक्टर व्यवसायीले राज्यलाई करोडौं रुपैयाँ करवापत भुक्तानी गरेको र ३० हजार घरपरिवारलाई रोजगारीको व्यवस्था गरेको भन्दै उनीहरुले यति ठूलो दायित्व ट्रेक्टर व्यवसायीले निर्वाह गरे पनि राज्यबाट आफूहरुका समस्या सम्बोधन हुन नसकेको बताएका हुन् । ओभरलोड, पानी चुहिने, असफल ब्याकलाईट जडान जस्ता कारण देखाई दण्ड जरिवाना गर्ने काम रोकिनुपर्ने उनीहरुको माग छ ।
व्यवसायीहरुले कृषि कार्यमा प्रयोग हुने इन्धन सर्वसुलभ दरमा उपलव्ध हुनुपर्ने, ट्रेक्टरको क्षमता अनुसार भारवहन क्षमता हुनुपर्ने, ट्रेक्टरहरुमा प्रदान गरिने बैंक ऋणको ब्याज न्यून हुनुपर्ने तथा बैंक कर्जा चुक्ता हुना साथ ट्रेक्टर तुरुन्तै नामसारी हुनुपर्ने, ट्रेक्टरहरुबाट निर्वाध रुपमा ढुवानी गर्न पाउनुपर्ने माग पनि गरेका छन् ।
साधारणसभाको उदघाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले ट्रेक्टर व्यवसायीका समस्या समाधानमा स्थानीय सरकार गम्भिर रहेको भन्दै कृषि कार्यका लागि प्रयोग हुने ट्रेक्टरको प्रयोगले उत्पादन बढाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
नेपाल ट्रेक्टर महासंघका पुर्व केन्द्रीय अध्यक्ष प्रदिप कुमार उदयले कृषि कार्यका लागि प्रयोग हुने ट्रेक्टर मुलुकको विकासको मेरुदण्ड रहेको भन्दै व्यवसायीका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।
वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै लुम्बिनी ट्रेक्टर समितिका अध्यक्ष खेम गौतमले यस क्षेत्रमा १२ हजार ट्रेक्टर रहे पनि ३०५ वटा मात्र समितिमा आवद्ध रहेको भन्दै बढी भन्दा बढी ट्रेक्टरलाई समितिमा ल्याउने प्रयास भइरहेको बताए । उनले ट्रेक्टर दर्ता तथा नवीकरणलाई क्षेत्रीय भेलाको माध्यमबाट वृद्धि गर्दै लैजाने, दुर्घटना क्षतिपूर्तिको व्यवस्था गरिने, व्यवसायी तथा चालकहरुलाई तालिम प्रदान गरिने बताए ।
त्यस अवसरमा नेपाल ट्रेक्टर महासंघका पुर्व केन्द्रीय सदस्य उदय बहादुर गुरुङ, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ध्रुवकुमार धिताल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का मिनप्रसाद पोखरेल, नेपाली कांग्रेसका नगर सभापति हरिलाल पाण्डे, तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपाने, नेपाल किसान ट्रेक्टर समितिका पुर्व अध्यक्ष मधु अर्याल, नेपाल किसान ट्रेक्टर समिति कपिलवस्तुका अध्यक्ष शंकर पौडेल, समितिका उपाध्यक्ष नेत्रप्रसाद घिमिरे, व्यवसायी यज्ञमूर्ति खनाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभामा महासचिव कृष्ण तिवारीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij