२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

आन्तरिक पर्यटन प्रवर्द्धनका लागि अध्ययन अवलोकन भ्रमण

सोमवार , जेठ ८, २०८०

भैरहवा, ८ जेठ ।
पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले उद्योगी–व्यवसायीहरुले विभिन्न जिल्लाका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन भ्रमण गरेका छन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले चैत ३ गतेदेखि ६ गतेसम्म (चारदिन) पाँच जिल्लाको भ्रमण गरेको हो । संगठनको टोली गण्डकी प्रदेशको गोरखा, तनहुँ, कास्की, स्याङ्जा र लुम्बिनी प्रदेशको पाल्पाको भ्रमण गरेको हो ।

कोरोना महामारीले प्रभावित नेपालको पर्यटन क्षेत्रलाई उकास्नका लागि केही भए पनि टेवा पुगोस् भन्ने उद्देश्यले प्रमुख पर्यटकीय गन्तव्यमा अध्ययन अवलोकन भ्रमण गरिएको चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले बताए । ‘पर्यटन क्षेत्रको विकास नेपालको आर्थिक विकास र समृद्धिको आधार हो । अझ आन्तरिक पर्यटन प्रवर्द्धनले सम्बन्धित जिल्लाको प्रचारप्रसारमा सहयोग गर्छ, यही उद्देश्यले चारदिने अध्ययन अवलोकन भ्रमण गरिएको हो, ’ज्ञवालीले भने । संगठनले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले वार्षिक कार्ययोजना गोष्ठी पनि पर्यटकीय स्थलहरुमा नै आयोजना गर्दै आएको ज्ञवालीको भनाइ छ ।

संगठनको टोली गोरखाको बारपाक, लारपाक, गोरखादरबार, तनहुँको बन्दीपुर भ्रमण, बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको अवलोकन, कास्कीको पोखरा भ्रमण, पोखरा महानगरपालिका–२६ गुँदेतालस्थित कुनो एकीकृत कृषि फर्म प्रा.लि. (कालिज फर्म) को अवलोकन, पोखरा–२२ स्थित पुम्दीकोटमा निर्माण भएको ५१ फिट अग्लो शिव मूर्तिको अवलोकन गरिएको भ्रमण संयोजक तथा चेम्बर अफ कमर्स, रुपन्देहीका उद्योग उपाध्यक्ष रामचन्द्र रेग्मीले बताए । त्यस्तै स्याङ्जा जिल्लाको भ्रमण तथा पाल्पाको तानसेनस्थित पाल्पा दरबार संग्रहालयको अवलोकन गरिएको रेग्मीले जानकारी दिए । ‘२०७२ सालको भूकम्पको केन्द्रबिन्दु रहेको बारपाक अवलोकन गर्न पर्यटकहरूको घुइँचो लाग्ने गर्छ, ’रेग्मीले भने ।

IMG_7434.JPG

अध्ययन अवलोकन भ्रमणमा कालिज फार्म र राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको अवलोकनले कृषि तथा पशुपालनबारे बुझ्न अवसर प्राप्त भएको संगठनका निवर्तमान अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए ।

IMG_7442.JPG

एउटा जिल्लाबाट अर्को जिल्लामा जाँदा त्यस क्षेत्रको व्यापार व्यवसायमा समेत वृद्धि भइ आर्थिक चलायमानमा समेत सहयोग पुग्ने भएको आन्तरिक पर्यटनमा जोड दिनुपर्ने संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले बताए ।
भ्रमण टोलीमा २० जनाको सहभागीता रहेको संगठनका महासचिव सचिन रोक्काले बताए ।

अध्ययन अवलोकन भ्रमण तथा अन्तरचेम्बर भेटघाट कार्यक्रममा पर्यटकीय स्थलहरुको बारेमा विस्तृत रुपमा जानकारी प्राप्त भएको र  चेम्बर अफ कमर्सबीच सम्बन्ध थप प्रगाढ भएको संगठनका सचिवालय सदस्य सुरेन्द्र पाण्डेले बताए ।

अध्ययन अवलोकन भ्रमण निकै प्रभावकारी भएको र भ्रमणलाई आगामी दिनमा निरन्तरता दिनुपर्ने भ्रमणमा सहभागी चेम्बर अफ कमर्स, रुपन्देहीका कार्यसमिति सदस्य धिरज कुमार मल्लिकले बताए ।

IMG_7809.JPG
IMG_7478.JPG
IMG_7507.JPG
Bandipur...jpg
347803211_211371121708203_2834787627944920432_n.jpg
348441132_1422507031834305_895123439675264987_n.jpg