images

बुधवार, बैशाख १९ गते २०८१

देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन् सुरु

देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन् सुरु

images
images
images
बुधवार, जेठ १७ २०८०
बुधवार, जेठ १७ २०८०
  • देवदह दरबार अनुमान गरिएको खयरडाँडामा उत्खनन् सुरु

    भैरहवा, १७ जेठ ।
    लुम्बिनी विकास कोषले बुद्धको मावली कोलिय गणराज्यको दरबार क्षेत्र अनुमान गरिएको खयरडाँडामा उत्खनन सुरु गरेको छ । बुधबार कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई र देवदह नगरपालिकाका प्रमुख 
    ध्रुव खरेलले संयुक्त रुपमा उत्खनन्को शुभारम्भ गरेका हुन् । 

    images

    देवदह नगरपालिका वडा नम्बर ९ स्थित घोडाहा खयरडाँडामा लामो समयदेखि दरबारक्षेत्रको भग्नावशेष रहेको भन्दै उत्खननका लागि स्थानीयहरुले आवाज उठाउँदै आएका थिए । देवदहका स्थानीयसमेत रहेका कोषाध्यक्ष भट्टराईले देवदहका स्थानीय र विभिन्न अभियन्ताहरुले दावी गरे अनुसार देवदहको खोजीका लागि उत्खनन् महत्वपूर्ण बन्ने बताए । उनले कोषले बौद्ध पुरातात्विक क्षेत्रहरुको उत्खनन् र संरक्षणमा पुरातात्व महाशाखालाई बलियो बनाएर अभियान सञ्चालन गर्ने योजनामा रहेको बताए । उनले देवदहको खोजीका लागि रुपन्देही र नवलपरासीका क्षेत्रहरुको पुरातात्विक उत्खनन गर्नुपर्ने बताउँदै त्यसैका लागि कोषले उत्खनन थालेको बताए ।

    ‘देवदह कुन हो, त्यसका लागि पुरातात्विक रुपमा पुष्टि हुन बाँकी छ, तर खयरडाडा पुरातात्विक स्थल रहेकोमा कुनै शंका छैन’ उनले भने । उनले देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरुको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन नगरपालिकाले काम गर्नुपर्ने बताए । 

    उत्खनन् शुभारम्भमा देवदह नगरपालिकाका नगरप्रमुख ध्रुव खरेलले खयरडाँडा क्षेत्र नै कोलिय गणराज्यको राजधानीको दरवार क्षेत्र रहेको दावी गरे । उनले उत्तरतर्फ पुष्करणी दह, पश्चिमपट्टी रोहिणी नदी रहेकाले यहि क्षेत्र नै देवदह भएको आफुहरुको विश्वास रहेको बताए । उनले लुम्बिनी विकास कोषले खयरडाँडामा उत्खनन सुरु गरेर पुरातात्विक स्थल र बुद्धको मावली गाउँ देवदहको खोजीका लागि महत्वपूर्ण योगदान पुर्याउने बताए । नगरप्रमुख खरेलले खयरडाँडामा भेटिएका पुरातात्विक बस्तु र स्मारकहरुलाई नगरपालिकाले संग्राहलय बनाएर राख्ने प्रतिबद्धता जनाए । 

    लुम्बिनी विकास कोषका पुरातात्व महाशाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा ७ जनाको टोली उत्खननमा खटिएको छ । लामो समयदेखि स्थानीयहरुको माग रहे पनि विविध कारण हुन नसकेको उत्खनन् योपटक सुरु गरिएको महाशाखा प्रमुख उप्रेतीले बताए । स्थानीयहरुको दावीअनुसार खयरडाँडा बुद्धको मावली कोलिय गणराज्यको राजधानी देवदहको दरबार क्षेत्र हो । पुरातात्विक रुपमा देवदहको पुष्टिका लागि उत्खननले महत्वपूर्ण प्रमाणहरु जुटाउने अपेक्षा गरिएको छ । उत्खनन शुभारम्भमा देवदह नगरपालिकाका पूर्व नगरप्रमुख हिरा केसी, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, नगर प्रवक्ता गणेश डुम्रे, वडाअध्यक्षहरू मोहन जि.सी. र कृष्ण अधिकारी, लुम्बिनी बौद्ध विश्वविद्यालयका उकेशराज भुजुलगायतको उपस्थिति रहेको थियो । 

    बुधबारदेखि सुरु भएको उत्खनन आगामी असार १५ गते एक महिनासम्म चल्नेछ । उत्खनन्मा पुरातात्व महाशाखाका प्रमुख उप्रेतीसहित नवराज अधिकारी, शुभेच्छा पोखरेल, निशा पन्थी, अम्बिका सुब्बासहितको टोली खटिएको छ । यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यही आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार कपिलवस्तुको गोटिहवामा चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन् गरेको छ । 

     

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij