शुक्रवार, आश्विन ५ गते २०८०

सीमा नाकामा चेकजाँचमा कडाइ, स्वदेशी व्यवसाय चलायमान हुने आशा

सीमा नाकामा चेकजाँचमा कडाइ, स्वदेशी व्यवसाय चलायमान हुने आशा

images
images

खबर पात्रो

१८, जेठ २०८०
  • 2.8K
    SHARES
  • सीमा नाकामा चेकजाँचमा कडाइ, स्वदेशी व्यवसाय चलायमान हुने आशा

    भैरहवा, १८ जेठ । खुल्ला सीमा नाकालाई व्यवस्थित गर्दै चेकजाँचमा कडाइ गर्नुपर्ने उद्योगी–व्यवसायीले निरन्तर माग गरिरहेका छन् । भैरहवा भन्सार कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउनेदेखि विभिन्न अन्तरक्रिया, छलफल कार्यक्रममार्फत सम्बन्धित निकायलाई उनीहरुले ध्यानाकर्षण गराउँदै आएका छन् । सीमापारी किनमेल गरेर सहजै सामान बोकेर नेपाल ल्याइएको र चेकजाँचमा कडाइ नभएपछि नेपाली व्यवसायी मर्कामा परेको भन्दै उनीहरु गुनासो गरिरहन्छन् ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीले गत जेठ १४ गते आइतबार भैरहवामा आयोजना गरेको खुल्ला सीमा नाका चुनौती र समाधान विषयक अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीले सीमा नाका खुकुलो हुँदा सहजै रुपमा सामान भित्रिएको बताएका थिए । उनीहरुले खुल्ला सीमा व्यवस्थित हुन नसकेका कारण राज्यको अर्थतन्त्र खस्केको र नेपालका उद्योगी–व्यवसायी मर्कामा परेको बताए ।

    images
    images

    तर,  केही दिनदेखि सीमा नाका बेलहियामा चेकजाँचमा कडाइ गरिएको छ । भारतबाट सामान लिएर नेपाल आउने व्यक्तिहरुको चेकजाँचमा कडाइ गरिएको बेलहियाका स्थानीय बताउँछन् ।

    सिद्धार्थनगर नगरपालिका–१ बेलहियाका प्रशान्त थापा क्षेत्रीले पछिल्लो समय सीमा नाकामा चेकजाँचमा कडाइ भएको पाइएको बताए । उनले भने, ‘विगत केही दिन यता चेकजाँचमा कडाइ गरिएको छ ।’

    नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष मधु प्रसाद पन्थीले सीमा नाकामा चेकजाँचमा कडाइ गरिएको पाइएको बताए । उनले सुरक्षा निकाय तथा भन्सार कार्यालयबाट चेकजाँचमा कडाइ गरिएको बताए ।

    सीमा नाकामा कडाइ गरिएपछि राजस्व संकलनमा समेत वृद्धि हुने एक भन्सार एजेण्टले बताए । उनले भने, ‘सीमापारी भारतबाट सामान खरिद गरेर नेपाल आएपछि अनिवार्य भन्सार प्रक्रियामा गए अवश्य नै राजस्व संकलनमा वृद्धि हुन्छ ।’ मुख्य नाका बेलहियासँगै अन्य नाकाहरुमा पनि कडाइ गर्नुपर्ने उनको भनाइ छ ।

    सिद्धार्थ उद्योग वाणिज्यले संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलले तस्करीको सामान व्यवसायीले खरीद गर्न नहुने बताए । अवैध कारोबारबारे व्यवसायीले सूचना दिएर सहयोग गर्नुपर्ने उनको आग्रह थियो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले सीमा नाका चेकजाँचमा कडाइ गरिनु सकारात्मक कार्य भएको बताए । उनले यो कार्यले स्थानीय बजार चलायमान हुनुका साथै देशको समग्र अर्थतन्त्रमा समेत प्रभाव पार्ने बताए । उनले भने, ‘चेकजाँच कडाइलाई निरन्तरता दिनुपर्छ, यसले चोरी तस्करीलाई पनि निरुत्साहित गर्छ । बेलहिया नाकाजस्तै अन्य नाकाहरु प्नि चेकजाँचलाई कडाइ गर्नुपर्छ । ’ स्वदेशी व्यवसाय चलायमान हुने अपेक्षा गरिएको उनको भनाइ छ ।

    images
    प्रकाशित मिति :जेठ १८, २०८० बिहिवार - १३:२५:१० बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij