२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

झण्डै ५ खर्ब पुग्यो सहकारीको बचत, सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान हुने 

मंगलवार , पौष २८, २०७७

काठमाडौं, २८ पुस । 
मुलुकभर सञ्चालित सहकारी संस्थाको बचत संकलन करिब ५ खर्ब रुपैयाँ पुगेको सहकारी विभागले जनाएको छ । विभागको अध्ययन प्रतिवेदन अनुसार सहकारीको कुल बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख रुपैयाँभन्दा बढी छ ।

सहकारीहरूले रू. ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ऋण लगानी गरेको पाइएको छ । उक्त प्रतिवेदनका अनुसार सहकारीको कुल शेयर पूँजी भने ९४ अर्ब १० करोड ५० लाख रहेको छ । सहकारी संस्थामा ८८ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको समेत प्रतिवेदनमा उल्लेख छ ।

यसैबीच राष्ट्रिय सहकारी महासंघको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रूपमा रहेको भन्दै यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने बताए । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गर्दैै उनले सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई एउटै टेबलमा बसेर समाधान गरिने बताए ।

मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताए । कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरेकी थिइन् ।