२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनी केबलकार चढ्नेको भीड, एकैदिन तीनहजार बढी 

आइतवार , जेठ २१, २०८०

बुटवल, २१ जेठ । 
बुटवल बमघाटदेखि बसन्तपुरसम्म सञ्चालनमा आएको लुम्बिनी केबलकारमा शनिबार तीनहजार जना भन्दा बढीले यात्रा गरेका छन् । शनिबार सार्वजनिक विदा भएकाले बिहानैदेखि केबलकार चढ्नेको भीड लागेको लुम्बिनी केबलकार प्रा.लि.ले जनाएको छ । 

जेठ १५ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको केबलकारमा शनिबार हालसम्मकै सबैभन्दा बढी तीनहजार बढी संख्यामा मानिसहरु आएको आयोजना प्रमुख गोकुल साउदले बताए । लुम्बिनी प्रदेशकै पहिलो केबलकार भएको र टप स्टेशन बसन्तपुर समुद्री सतहबाट ९४० मिटरको उचाइमा रहेकाले चर्को गर्मीमा पनि बसन्तपुरमा शितल हुने भएकाले प्रचण्ड गर्मी छल्न केबलकार चढ्नेको भीड लागेको साउदले बताए । 

बसन्तपुरमा  कामाख्यादेवीको मन्दिरसहित सहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपिपल, ढुङ्गे धारा, पोखरी आदि संरचनाहरू निर्माणले मन्दिरको दर्शनका लागि पनि भक्तजनहरु आउने गरेको व्यासाचार्य किशोर गौतमको भनाइ छ । केबलकारमार्फत बटम स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ । बसन्तपुरबाट बुटवलको मनोरम दृश्य देख्न सकिने र गर्मी ठाउँबाट आएका पर्यटकलाई ९४० मिटरको उचाइमा रहेको स्थानमा पुग्दा आनन्दको अनुभूति हुने विश्वास लिइएको छ ।

सहकारीका सदस्यलाई निःशुल्क यात्रा

यसैबीच आइएमई ग्रुप अन्तर्गतको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रले आफ्ना सदस्यहरुलाई निःशुल्क रुपमा केबुलकार यात्रा र कामाख्यादेवी मन्दिर दर्शन गराएको छ । 

सहकारीले शुक्रबार र शनिबार गरी तीनसय जना भन्दा बढी शेयर सदस्यहरुलाई   केबलकार यात्रा गराएको आइएमई कोअपरेटिभ सर्भिस लि. बुटवल सेवा केन्द्रका व्यवस्थापक विष्णु वस्तीले बताए । सो अवसरमा आइएमई ग्रुपका निर्देशक रुद्र पौडेलले शेयर सदस्यहरुलाई स्वागत गरेका थिए । 

कूल ५ अर्ब रुपैयाँ लागतको आयोजनामध्ये पहिलो चरणमा केबलकारमा साढे तीन अर्ब लगानी भएको छ भने टप स्टेसनमा डेढ अर्ब लागतमा डेढसय कोठाको पाँचतारे होटेल, क्यासिनो र ७ सय जना क्षमताको सेमिनार हल, पार्कलगायतका संरचना निर्माण हुने क्रममा छन् । आईएमई समूहको मुख्य लगानी रहेको यसमा ४९ प्रतिशत लगानी स्थानीयको रहेको छ ।