२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

बदलिँदो सहकारीमा पुन: गैरे निर्वाचित

बैंकहरुले सहकारीविरुद्ध षडयन्त्र गरेको आरोप

मंगलवार , पौष २८, २०७७

बुटवल, २८ पुस । 
बदलिंदो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट पुन : प्रकाश गैरेको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । सहकारीको उपाध्यक्षमा नरबहादुर रजाली, सचिवमा वसन्ती न्यौपाने र कोषाध्यक्षमा तुल्सीराम पाण्डे चयन भएका छन् भने सदस्यहरुमा गणेश वस्याल, अनिलकुमार पाण्डे, सुशिल न्यौपाने, मीना घिमिरे, सत्यवती नेपाल, हरि प्रसाद उपाध्याय र रामनारायण श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

अधिवेशनबाट सहकारीको अध्यक्षसहित सबै पदाधिकारी तथा सदस्यहरु र लेखा समितिमा समेत सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका डिलबहादुर थापाले बताए । लेखा समिति संयोजकमा टोपलाल घिमिरे, सदस्यमा घनश्याम अर्याल र भूमीमाया राना चयन भएको थापाले जानकारी गराएका छन् । 

अधिवेशनको उद्घाटन गर्दै राष्ट्रिय सहकारी संघका संचालक रामकृष्ण खांणले एक व्यक्ति समान प्रकृतिको अर्को सहकारीमा शेयर सदस्य हुन नपाउने भन्ने कुरा बैंक संचालकहरुको षडयन्त्र भएको बताए । सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने र उक्त लगानीवाट उत्पादित वस्तुको सहकारीले नै बजारीकरण गर्ने व्यवस्थाउन मिलाउन सहकारी अभियान्ता खांणले माग गरेका छन् । सहकारीले नेतृत्व विकास, अन्तरआत्माको विकास र आत्मबल वृद्धि गर्नुका साथै महिलाहरुको सशक्तिकरण र आर्थिक समृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए । महिलाहरुलाई आत्मनिर्भर बनाई खांणले घरेलु हिंसा रोक्नका लागि टेवा पुर्याएको उल्लेख गर्दै खाणले सहकारीको विकासका लागि राज्य संचालकहरु गम्भिर हुनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा अध्यक्ष प्रकाश गैरेले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष रामचन्द्र खड्काले आयव्ययको प्रतिवेदन र लेखा समितिका संयोजक हरि घिमिरेले प्रस्तुत गरेको लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको सचिव वसन्ती न्यौपानेले बताइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारीका सचिव बसन्त ढकाल, बुटवल उपमहानगरपालिका सहकारी प्रमुख गुणाखर खनाल, नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेल्बासे, संस्थाका उपाध्यक्ष नरबहादुर रजाली लगायतले सहकारी संस्थाहरुले जनस्तरमा पुगेर बचत संकलन गर्ने र सर्वशुलभ किसिमले कर्जा लगानी गर्ने गरेका कारण बंैकमा तरलता अभाव हुने डरले सहकारीमा संकुचन ल्याउने खालका नीति बनाउन बैंक संचालकहरुले सरकारलाई दवाव दिने गरेका समेत बताएका छन् ।