images

बुधवार, बैशाख १९ गते २०८१

एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

images
images
images
बिहिवार, जेठ २५ २०८०
बिहिवार, जेठ २५ २०८०
  • एकपटक आर्थिक क्रान्ति नै गर्नुपर्ने अवस्था छ : प्रधानमन्त्री

    बुटवल, २५ जेठ । 
    प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एकपटक आर्थिक क्रान्ति गर्नुपर्ने अवस्था आएको बताएका छन् । बिहीबार लुम्बिनी केबलकारको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कोरोना महामारीको मारबाट भर्खरै उम्किएको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान बनाउन आर्थिक क्रान्ति नै गर्नुपर्ने बताएका हुन् ।  

    images

    देशको अर्थतन्त्र अप्ठेरोमा रहेका बेला निजी क्षेत्रका तर्फबाट पर्यटकीय पूर्वाधारहरू निर्माण भएबाट मुलुकमा आर्थिक क्रियाकलाप थप चलायमान भएको र यसले सकारात्मक सन्देश गएको प्रधानमन्त्रीले बताए । 

    रुपन्देही र पाल्पा जिल्लालाई जोड्ने गरी निर्माण भएको केबलकारको पर्यटकीय पूर्वाधारले स्थानीयस्तरमा मात्र नभइ राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो योगदान पुग्ने उनले बताए । नेपालमा आउने विदेशी पर्यटकका लागि यस्ता पर्यटकीय संरचनाले सहयोग पुग्ने र यसबाट उनीहरुको नेपाल बसाई पनि लम्ब्याउन सकिने प्रधानमन्त्रीको भनाइ छ । 

    पर्यावरणीय महत्वलाई कायमै राखेर स्थानीय नागरिकको पनि साझेदारीमा काम गर्न र उनीहरुको जीवनस्तर उकास्ने खालका काम गर्न प्रधानमन्त्रीले सुझाव दिए । वर्तमान सरकारले देश विकास र समृद्धिका लागि  निजी क्षेत्रसँग सहकार्यका साथ अघि बढ्ने नीति लिएको र देशमा लगानीका सम्भावनाहरूलाई हर समय खुला राख्ने पक्षमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे । 

    पर्यटन क्षेत्रको बहुआयमिक विकासका निम्ति भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालन, होटललगायत पर्यटन पूर्वाधार निर्माण, सुरक्षा प्रबन्ध एवं पर्यटकको बसाइ लम्बाउन आवश्यक पर्ने नीति अवलम्बन गरिने उनले बताए । मुलुकभित्रै रोजगारीको अवस्था सिर्जना गर्न आन्तरिक उत्पादन र नवप्रवर्तनको क्षेत्रमा लगानी केन्द्रित गरी अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योग–व्यवसायलाई संकटबाट जोगाउन रोकिएको घरजग्गा कारोबारलाई सुचारू गर्ने निर्णय गरिसकिएको प्रधानमन्त्रीले बताए । पछिल्लो समयमा आर्थिक प्रणालीमा व्यवसायिक चक्रभन्दा सम्पत्तिको मूल्य वृद्धि चक्र हावी हुनु दुःखद भएको उल्लेख गर्दै  कृषि, म्यानुफेक्चरिङ, उद्योग एवं वास्तविक सेवा क्षेत्रको वृद्धिदरलाई उच्च बनाएमा मात्र वित्तीय क्षेत्र बलियो र स्थीर हुने प्रधानमन्त्रीले उल्लेख गरे । उच्च मुद्रास्फीति र अस्थीर व्याजदरले राज्य एवं सामान्य नागरिकको बजेट प्रणाली, ज्याला, उद्योगको विकास र आम जनसमुदायको जीवनस्तरमा नकारात्मक प्रभाव पार्ने भएकाले यसमा सरकारले उपर्युक्त कदम चाल्ने उनले बताए ।  अहिलेसम्म चल्दै आएको विकास मोडेलबारे पनि पुनर्विचार गर्न आवश्यक रहेको प्रधानमन्त्रीको भनाई छ । ‘हालसम्मका योजनावद्ध विकासका प्रयासबाट भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, समावेशीता जस्ता क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भए तापनि उत्पादन र रोजगारीको क्षेत्रमा हाम्रो प्रगति उत्साहजनक छैन’–प्रधानमन्त्रीले भने । पछिल्लो ६ महिनामा दुर्घटनाग्रस्त अर्थतन्त्रले लय समातेको र समष्टिगत आर्थिक परिसूचकहरूमा राम्रो सुधार आउन थालेको प्रधानमन्त्रीको दावी छ । 

    वर्तमान सरकारले स्वदेशी तथा वैदेशिक लगानीका लागि सदैव आह्वान गर्ने गरेको उनले बताए । भारतको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्रीले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने घोषणा भएबाट अब नेपालमा हाइड्रोपावरका क्षेत्रमा लगानीको बाटो खुलेको उनले बताए । वर्तमान सरकार निजी क्षेत्रसँगको सहकार्य बिना देशमा समृद्धि सम्भव छैन भन्नेमा प्रष्ट रहेको उल्लेख गरे । 

    पुर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले महत्वपूर्ण संरचना निर्माण गरेर पुरा भएको भन्दै यसबाट पर्यटन विकासमा टेवा मिल्ने बताए । पाल्पा र रुपन्देहीलाई जोड्ने काम केबलकारले गरेको उनले बताए । कामाख्या देवी मन्दिरको विशाल, आकर्षक, धार्मिक आस्थाको मन्दिरका कारण यहाँको थप गरिमा बढेको उनले बताए । अन्त कहीं पनि निर्माण गर्न नसकिने बुद्ध जन्मस्थल र योसंगै जोडिएका धेरै संरचना प्रदेशमा रहेको भन्दै उनले यसको ऐतिहासिक सम्पदा, सामाजिक साँस्कृतिक सम्पदालाई प्रचारप्रसार गरेर अघि बढ्न जरुरी रहेको बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवल–नारायणगढ सडक बिस्तार जस्ता परियोजनालाई निरन्तरता दिन जरुरी रहेको उनले बताए । लगानी निजी क्षेत्रबाट भए पनि यसबाट सबैको आर्थिक सबलीकरणमा सहयोग मिल्ने पौडेलको भनाई छ । 

    लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले  संकटग्रस्त अहिलेको अवस्थामा लुम्बिनी केबलकारले महामारीबाट लडेको देशको अर्थतन्त्र धुलो टकटकाउँदै उठेर तंग्रिन खोजेको सन्देश दिएको बताए । ढकालले चीन र भारतमा  झण्डै पौने तीन अर्ब जनसंख्या रहेकाले दुबै देशका हिन्दु र बौद्ध धर्मावलम्बीलाई मनन् गरेर पर्यटन नीति बनाएमा पर्यटक र समृद्धि खोज्न धेरै तिर भौँतारिनै नपर्ने बताए । 

    रुपन्देही र पाल्पा जिल्ला जोड्ने पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्याउने ढकालले बताए । केबलकार टिकटको आम्दानीको २ प्रतिशत रकम बुटवल र तिनाउ दुई पालिकाको विकासमा लगाइने उनले बताए ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले निजी क्षेत्रबाट गरिने सबैजसो लगानीमा प्रदेश सरकार स्वागत गर्न चाहेको बताए । संघीयतालाई केन्द्रको युनिटका रुपमा नहेर्न उनले सुझाव दिदै संविधानले तोकेका अधिकार प्रदेशलाई विकेन्द्रीकरण गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गरे । पुलिस नभएको सरकारको कुनै तुक नभएको भन्दै आवश्यक नीतिमा रहेर आधारलाई टेकेर अधिकार दिन उनले आग्रह गरे ।

    कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले यहाँका पर्यटकीय क्षेत्रमा केबलकार संचालनसंगै थप पर्यटकहरुलाई सुविधा दिने बताए । उनले १४ महिनामा ठूलो आयोजना सम्पन्न गरी देशमा विकास गर्न सकिने सम्भावनालाई उजगार गरेको बताए । निजी क्षेत्रबाट छिटो काम हुने तर सरकारी विकासका काम तोकिएको समयमा नहुने समस्यालाई तोड्ने गरी अघि बढ्न सरकारलाई उनले सुझाव दिए । 

    कार्यक्रममा भारत उत्तर प्रदेशका पुर्व मुख्यमन्त्री जगदम्बिका पालले भारतीय पर्यटकलाई भुलाउने सम्भावना देखिएको बताए । नेपालको साहसिक, धार्मिक र पर्यटकीय स्थलमा बाह्य पर्यटक ल्याउन र रमणीय स्थलमा घुमाउने थलो रहेको छ । लुम्बिनीसँगै नयाँ गन्तव्यका कारण नेपाल र भारतबिच जनस्तरमा थप भावनात्मक सम्बन्ध स्थापित हुनेछ”–उनले भने ।
     
    कार्यक्रममा संघीय सांसद् ठाकुर गैरे र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पर्यटन नै आर्थिक विकासको आधार भएको बताए । 

    कार्यक्रममा पाल्पाको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले यो क्षेत्र ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्र रहेको भन्दै यहाँको विकासमा ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij