२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

उपभोग्य तथा निर्माणजन्य वस्तु कम लागतमा उत्पादन गर्ने वातावरण बनाउन माग

बुधवार , पौष २९, २०७७

भैरहवा, २९ पुस । 
रुपन्देहीका उद्योगी व्यवसायीहरुले उपभोग्य तथा निर्माणजन्य वस्तु कम लागतमा उत्पादन गर्ने वातावरण बनाउन माग गरेका छन् । उनीहरुले औद्योगिक÷व्यवसायिक प्रतिष्ठानसम्म सामान पुग्न ढिलो हुँदा उत्पादन लागत महंगो पर्ने भएकोले उत्पादन र व्यापारमा प्रत्यक्ष असर पर्न गएको गुनासो गरेका छन् ।

यस क्षेत्रमा सञ्चालित उद्योगी व्यवसायीहरुले भारत तथा तेस्रो मूलुकबाट आयात गर्ने औद्योगिक कच्चापदार्थ एवं खाद्यान्न तथा अन्य सामान बोकेका ढुवानीका साधनहरु केही दिनदेखि भारतीय भूमि हुँदै बेलहिया–सुनौली नाकासम्म ल्याउने क्रममा भारतीय सुरक्षा निकायबाट चेकजाँचका नाममा ढुवानीका साधनहरुलाई रोक्दा समस्या भएको सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुलप्रसाद न्यौपानेले बताए ।

बुधबार सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष न्यौपानेको नेतृत्वमा भैरहवा भन्सार कार्यालय पुगेको उद्योगी व्यवसायीको टोलीले आवश्यक व्यवस्थापकीय समाधानसहित दीर्घकालिन समाधानको लागि लागि आइसीपी निर्माण नभएसम्म भैरहवा भन्सारद्धारा अधिग्रहण गरिएको ५४ विगाह जग्गामा व्यवस्थित पार्किङ्ग यार्ड निर्माण गरी भन्सारमा आउने मालवाहक गाडीहरुलाई सहज बनाई अनावश्यक खर्च कम गराउन माग गरेको छ । 

भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मणिराम पौडेललाई ज्ञापनपत्र बुझाउँदै उद्योगी व्यवसायीहरुले करिब २० देखि २५ किलोमिटरसम्मको जाम लाग्ने गरेको र सो दुरी पार गर्न एक हप्तासम्म लाग्न जाँदा उद्योगी व्यवसायीहरुले अनावश्यक डिटेन्सन, डेमरेज शुल्क भुक्तानी गर्न बाध्य भएकोले यसको समाधान गर्नुपर्ने माग गरेका छन् ।

‘भैरहवा भन्सार नाकामा आँउदा लामो समयसम्म जाममा पर्न जाने समस्याले भारतीय ढुवानी कम्पनी र चालकहरुले वीरगंज तथा कृष्णनगर नाकाबाट मालवाहक गाडीहरु ल्याउन बाध्य रहे पनि सोही समस्या समयसमयमा दोहोरिरहने तर समस्या समाधानमा सम्बन्धित निकायबाट आवश्यक पहल नगरिएको प्रति संघको ध्यानाकर्षण भएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राजेश कुमार अग्रवाल, महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष दिपक कुमार पौडेल, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष विष्णु प्रसाद शर्मा, उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महासचिव नेत्र प्रसाद आचार्य, भन्सार एजेन्ट संघका अध्यक्ष, उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।